नेपाल र भुटानबीचको म्याच जारी, यसरी हेर्नुस् लाइभ

काठमाडौं।

बहराइनमा आयोजना हुने एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले अहिले भुटानको सामना गरिरहेको छ। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानको सामना गरिरहेको हो। नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजे सुरु भएको हो।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ। भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ। नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताएका छन्।

प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेकोसमेत बताए। प्रशिक्षक केसीले तीन महिनाबाट प्रशिक्षण गरिरहेको कारण प्रतियोगिताका लागि टिम तयार रहेको बताए। नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।

यू–२० उमेर समूहमा नेपाल र भुटान पहिलोपटक एकअर्काविरुद्ध खेल्न लागेका हुन्। यसअघि यो प्रतियोगिता एएफसी युथ च्याम्पियनसिप यू–१९ तथा एएफसी यू–१९ च्याम्पियनसिपको रूपमा संचालन हुन्थ्यो।

त्यो बेला भने नेपालले एक खेल मात्रै भुटानसँग खेलेको थियो। सन् २००० मा एएफसी युथ च्याम्पियनसिप छनोटअन्तर्गतको म्याचमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। नेपाल र भुटानबीचको म्याच Bahrain Sports Channel ले युट्युबमा लाइभ गरिरहेको छ।

भारत साफको सेमिफाइनलमा प्रवेश, गर्‍यो गोलको वर्षा

साविक विजेता भारत छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा माल्दिभ्सलाई ९-० गोल अन्तरले हराउँदै भारतले अन्तिम चारको यात्रा तय गरेको हो ।

भारतलाई जित दिलाउन अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै डाङमेई ग्रेसले दुई गोल गर्दा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल गरिन्।

खेलको २४औं मिनेटमा अन्जुले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्। ४२औं मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन्। पहिलो हाफको इन्जुरी समयमा अन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन्।

खेलको ५३औं मिनेटमा ग्रेसले गोल गर्दा भारतले ४–० को अग्रता बनायो। खेलको ५५औं मिनेटमा सौम्याले गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाइन्।

खेलको ८४औं मिनेटमा काश्मिनाले गोल गर्दा भारतको अग्रता ६–० को बन्यो। ८५औं मिनेटमा अन्जुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि भारत ७–० ले अघि रह्यो। खेलको ८७औं मिनेटमा ग्रेसले व्यक्तिगत गोल गर्दै भारतलाई ८–० को अग्रता दिलाइन्।

त्यसपछि खेलको ८८औं मिनेटमा अन्जुले व्यक्तिगत चौथो गोल गर्दै भारतलाई ९–० को जित दिलाएकी हुन्। भारतको यो लगातार दोस्रो जित हो। भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो। जितसँगै समूह ‘ए’ को भारतले २ खेलमा ६ अंक जोडेको छ। भारत शीर्ष स्थानमा उक्लिएको छ।

भारतको जितसँगै बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले २ खेलमा ६ अंक जोडेको छ। अब समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेश भिड्ने छन्। त्यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ।

यस्तै, बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले हराउँदै बंगलादेश अन्तिम चारको नजिक पुगेको हो ।

बंगलादेशको फराकिलो जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन्। खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन्।

२८ औं मिनेटमा शोप्नाले गोल गर्दा बंगलादेश २-० ले अघि रह्यो । खेलको ३१ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाइन्। लगत्तै ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ४-० ले अघि रह्यो ।

खेलको ५९ औं मिनेटमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ५-० को अग्रता दिलाइन्। सबिना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । उनी सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छिन् । सबिनाले ५ गोल गरिसकेकी छिन्। त्यसपछि खेलको ७७औं मिनेटमा रितुले गोल गर्दै बंगलादेशलाई ६-० को जित दिलाइन्।

बंगलादेशको यो लगातार दोस्रो जित हो। पाकिस्तानको भने यो लगातार दोस्रो हार हो। यस समूहबाट माल्दिभ्स र पाकिस्तान भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन्। दुवै टोली अंकविहीन रहेका छन्। प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ।

Leave A Reply

Your email address will not be published.