काठमाडौं।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन्। आइतबार सामाजिक संजाल फेसबुकबाट अलमुताइरीले राजीनामाको घोषणा गरेका छन्। नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५ सय २५ दिनपछि अलमुताइरीले राजीनामा दिएका हुन्।
‘नेपाली फुटबलको सेवाको ५ सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ अलमुताइरीले लेखेका छन्, ‘खुशी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।’
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७७ चैत २२ गते अल्मुताइरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
तर, अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए। बन्द प्रशिक्षण छाडेका १० खेलाडी र नियमित कप्तान किरण चेम्जोङबिना नै एएफसी एसियन कप छनोटका लागि अल्मुताइरीले टिम घोषणा गरेका थिए।