श्रीलंकाले फाइनलमा दियो बलियो लक्ष्य, राजपाक्षेले खेले उत्कृष्ट पारी

काठमाडौं।

यूएईमा जारी एसिया कप क्रिकेटको फाइनल म्याचमा श्रीलंकाले पाकिस्तानलाई १ सय ७१ रनको लक्ष्य दिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो।

उसका लागि भानुका राजपाक्षेले शानदार ब्याटिङ गरे। उनले ४५ बलमा ६ चौका र ३छक्काको मद्दतमा अविजित ७१ रनको योगदान दिए। यस्तै, अलराउन्डर वानिन्दु हसरंगाले पनि उत्कृष्ट पारी खेले। उनले २१ बलमा ५ चौका र १ छक्कासहित ३६ रन जोडे।

धनन्जय डी सिल्भाले २८ रन बनाउँदा चमिका करुणारत्ने १४ रनमा नटआउट रहे। पाकिस्तानका लागि हरिस रउफले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २९ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। यस्तै, नसीम शाह, शदाब खान र इफ्तिखार अहमदले १–१ विकेट लिए।

सुपर चारमा अपराजित रहँदै श्रीलंका फाइनल पुगेको हो। सुपर चारको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। श्रीलंका शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो। पाकिस्तान दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो।

आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा छ। त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ। श्रीलंका पाँच पटकको च्याम्पियन हो । यसपटक श्रीलंका छैटौं पटक उपाधि जित्ने योजनामा रहेको छ।

पाकिस्तानले दुई पटक एसिया कप जितेको छ । पाकिस्तान तेस्रो पटक उपाधि उचाल्न चाहन्छ । श्रीलंका र पाकिस्तानबीचको पछिल्लो ५ टी-ट्वान्टी अन्तराष्ट्रियमा चार खेल श्रीलंकाले तथा एक खेल पाकिस्तानले जितेको छ । प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका तथा हङकङको सहभागीता थियो ।

Leave A Reply

Your email address will not be published.