काठमाडौं।
घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । समूह ‘बी’ को नेपालले १ खेलमा ३ अंक जोडेको छ । श्रीलंकालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।
नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो । श्रीलंका भने पहिलो जितको खोजीमा रहेको छ । सेमिफाइनलमा पुग्न श्रीलंकालाई फराकिलो जितको आवश्यकता रहेको छ । पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो ।
यस समूहमा भुटान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । १ खेलमा अंक विहीन श्रीलंका समूहको पुछारमा रहेको छ । यदि श्रीलंका नेपालसँग पराजित भएको खण्डमा भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।
समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
यसैबीच श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार घरेलु टोलीको सामना गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।
नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले २ खेलमा ६ अंक जोडेको थियो।
नेपालले पहिलो खेलमा भुटानलाई २-१ ले हराएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । श्रीलंकाले भने समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।