नेपाललाई आज यू-१७ साफको फाइनलमा पुग्ने मौका

काठमाडौं।

श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार घरेलु टोलीको सामना गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।

नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले २ खेलमा ६ अंक जोडेको थियो। नेपालले पहिलो खेलमा भुटानलाई २-१ ले हराएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।

श्रीलंकाले भने समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

यसैबीच बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले बलियो टोली कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।

कतारविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग २-० गोलको हार व्यहोरेको थियो । यता, कतार भने नेपाललाई हराएर प्रतियोगिताको सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

त्यसैले बलियो टोली कतारविरुद्ध नेपाललाई सहज हुनेछैन । छनोटको समूह ‘बी’ मा रहेको नेपाल र कतारले अंक जोड्न सकेको छैन । नेपाल पुछारमा रहदा कतार चौंथो स्थानमा रहेको छ । यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश छन्।

नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

Leave A Reply

Your email address will not be published.