काठमाडौं।
घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ। समूह ‘बी’ को नेपालले १ खेलमा ३ अंक जोडेको छ। श्रीलंकालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ।
नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो । श्रीलंका भने पहिलो जितको खोजीमा रहेको छ। सेमिफाइनलमा पुग्न श्रीलंकालाई फराकिलो जितको आवश्यकता रहेको छ। पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो।
यस समूहमा भुटान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। १ खेलमा अंक विहीन श्रीलंका समूहको पुछारमा रहेको छ। यदि श्रीलंका नेपालसँग पराजित भएको खण्डमा भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ। समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।
माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ। यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ।
नेपाल र श्रीलंकाबीचको हेड टू हेड
अन्तर्राष्ट्रिय महिला फुटबलमा श्रीलंकाविरुद्ध नेपाल हाबी हुँदै आएको छ। नेपालले अहिलेसम्म सात पल्ट श्रीलंकासँग म्याच खेलेको छ। त्यसमध्ये खुसीको संयोग सबैमा नेपालले शतप्रतिशत जित निकालेको छ।
नेपालले श्रीलंकाविरुद्ध खेलको सात खेलमध्ये पाँच साफ च्याम्पियनसिपका छन् भने दुई दक्षिण एसियाली खेलकुद (साग) का छन्। साफ च्याम्पियनसिपका खेलमध्ये नेपालले सन् २०१० को पहिलो भेटमा श्रीलंकालाई ८–१ ले हराएको थियो।
त्यो नै एक मात्र यस्तो गोल हो, जसयता श्रीलंकाले छ खेलमा कुनै गोल गर्न सकेको छैन्। श्रीलंकाविरुद्ध नेपाल सन् २०१२ मा ३–०, २०१४ मा ३–०, २०१६ मा १–० र २०१९ मा ४–० ले विजयी रहेको थियो। यस्तै सागमा श्रीलंकाविरुद्ध नेपाल २०१६ मा ४–० र २०१९ मा १–० गोलले विजयी भएको थियो।