आर्मी क्लबको शानदार जित, विनोदले बनाए सर्वाधिक रन

काठमाडौं।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को खेलमा मधेश प्रदेशविरुद्ध विभागीय टिम  त्रिभुवन आर्मी क्लब ६ विकेटले विजयी भएको छ। त्रिवि क्रिकेट मैदानमा मधेश प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य आर्मीले १८.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो।

आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्वाधिक रन बनाए। उनले ३३ बलमा ४ चौकाको मद्दतमा अविजित ३४ रनको योगदान दिए। रोहितकुमार पौडेलले २५ बलमा ३ चौकासहित २५ रन जाड्दा अर्जुन साउँदले १८, हरि चौहान र भीम सार्कीले ४–४ तथा राशेज पुलामीमगरले नटआउट १६ रन बनाए।

उनले छक्का हान्दै म्याच जिताएका हुन्। बलिङमा मोहम्मद आदिल आलम, रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए। मधेश प्रदेशलाई रोहितको विकेट रनआउटको रूपमा प्राप्त भयो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो। उसका लागि सन्तोष कार्कीले १७ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक २१ रनको योगदान दिए।

यस्तै, कप्तान हसिम अन्सारीले २०, रोहन विकल अविजित १७, नसरुद्दीन अन्सारीले १२ र विशाल सुस्लिङले १० रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। आर्मीका लागि सुशन भारी र सोमपाल कामीले २–२ तथा हरि चौहानले १ विकेट लिए। आर्मीले २ विकेट रनआउटको रूपमा प्रास्त गर्‍यो।

यस जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ। समूह ‘ए’ मा रहेको आर्मी शीर्ष स्थानमा उक्लिएको छ। मधेशले ४ खेलमा ३ अंक जोडेको छ। मधेश चौंथो स्थानमा रहेको छ। गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ।

तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भइरहेको हो। प्रतियोगितामा तीन विभागिय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता छ। सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

श्रीलंकाले पायो करोडौं पुरस्कार, पाकिस्तानको पनि मालामाल

टी-२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । बलरहरू चम्किंदा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि हात पारेको हो । पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो ।

तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए पनि कप्तान बाबर आजम ५ रनमै आउट भए । इफित्खार अहमदले ३२ रन र हरिस रौफले १३ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। यस्तै, चामिका करुणारच्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए । दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

उसका लागि भानुका राजपाक्षेले शानदार ब्याटिङ गरे। उनले ४५ बलमा ६ चौका र ३छक्काको मद्दतमा अविजित ७१ रनको योगदान दिए। यस्तै, अलराउन्डर वानिन्दु हसरंगाले पनि उत्कृष्ट पारी खेले। उनले २१ बलमा ५ चौका र १ छक्कासहित ३६ रन जोडे।

धनन्जय डी सिल्भाले २८ रन बनाउँदा चमिका करुणारत्ने १४ रनमा नटआउट रहे। पाकिस्तानका लागि हरिस रउफले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २९ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। यस्तै, नसीम शाह, शदाब खान र इफ्तिखार अहमदले १–१ विकेट लिए।

श्रीलंकाको यो छैटौं एसिया कप उपाधि हो । श्रीलंकाले सन् २०१४ पछि उपाधि जितेको थिएन। जितपछि च्याम्पियन श्रीलंकाले ट्रफीसहित १ लाख ५० हजार अमेरिकी डलर अर्थात करिब एक करोड ९१ लाख रूपैयाँ पुरस्कार पाएको छ। उपविजेता बनेको पाकिस्तानले ७५ हजार डलर अर्थात करिब ९५ लाख ३६ हजार रूपैयाँ पुरस्कारमा चित्त बुझायो।

त्यसैगरी प्लेयर अफ दि टुर्नामेन्ट भएका श्रीलंकाका वानिन्दु हसरंगाले १५ हजार डलर अर्थात १९ लाख ७ हजार र प्लेयर अफ द म्याच श्रीलंकाकै भानुका राजापाक्षेले ५ हजार डलर अर्थात करिब ६ लाख ३६ हजार रूपैयाँ प्राप्त गरे।

Leave A Reply

Your email address will not be published.