काठमाडौं:
काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २ सय ५ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो।
उसका लागि कुशल भुर्तेल र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। ओपनर कुशलले ३६ बलमा ७ चौका र ५ छक्कासहित ७५ रनको योगदान दिएका छन्। उनले मात्र २३ बलमा अर्धशतक पूरा गरेका थिए। पहिलो खेलमा कर्णालीविरुद्ध कुशलले ४० बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ३९ रन बनाएका थिए।
आज आरिफले पनि आक्रमक अर्धशतक बनाए। उनले २२ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा अविजित ५० रन जाड्दा सुनील धमलाले ३५, दिलिप नाथले ३३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३ रन बनाए।
लुम्बिनीका लागि बसिर अहमद, अनिल खरेल, दीपेन्द्र रावत र विशाल विक्रम केसीले १–१ विकेट लिए। आज पुलिसले मञ्जित श्रेष्ठको ठाउँमा दीपेन्द्रलाई कप्तानी दिएको छ। मञ्जित राष्ट्रिय प्रतियोगितामा पहिलो पटक बेन्चमा बसेका हुन्। दीपेन्द्रले पहिलोपटक पुलिसको कप्तानी गरिरहेका हुन्।
आर्मी क्लबको शानदार जित, विनोदले बनाए सर्वाधिक रन
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को खेलमा मधेश प्रदेशविरुद्ध विभागीय टिम त्रिभुवन आर्मी क्लब ६ विकेटले विजयी भएको छ। त्रिवि क्रिकेट मैदानमा मधेश प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य आर्मीले १८.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो।
आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्वाधिक रन बनाए। उनले ३३ बलमा ४ चौकाको मद्दतमा अविजित ३४ रनको योगदान दिए। रोहितकुमार पौडेलले २५ बलमा ३ चौकासहित २५ रन जाड्दा अर्जुन साउँदले १८, हरि चौहान र भीम सार्कीले ४–४ तथा राशेज पुलामीमगरले नटआउट १६ रन बनाए।
उनले छक्का हान्दै म्याच जिताएका हुन्। बलिङमा मोहम्मद आदिल आलम, रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए। मधेश प्रदेशलाई रोहितको विकेट रनआउटको रूपमा प्राप्त भयो।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो। उसका लागि सन्तोष कार्कीले १७ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक २१ रनको योगदान दिए।
यस्तै, कप्तान हसिम अन्सारीले २०, रोहन विकल अविजित १७, नसरुद्दीन अन्सारीले १२ र विशाल सुस्लिङले १० रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। आर्मीका लागि सुशन भारी र सोमपाल कामीले २–२ तथा हरि चौहानले १ विकेट लिए। आर्मीले २ विकेट रनआउटको रूपमा प्रास्त गर्यो।
यस जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ। समूह ‘ए’ मा रहेको आर्मी शीर्ष स्थानमा उक्लिएको छ। मधेशले ४ खेलमा ३ अंक जोडेको छ। मधेश चौंथो स्थानमा रहेको छ। गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ।
तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भइरहेको हो। प्रतियोगितामा तीन विभागिय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता छ। सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।