काठमाडौं।
नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ । कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।
नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे । कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको २२ औं मिनेटमा प्रशान्तले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए ।
खेलको २३ औं मिनेटमा हरिसले गोल गर्दा नेपालको अग्रता २-० गोलको बन्यो । ३१ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई तेब्बर अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा निरोजले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा सिजलले गोल गर्दै नेपाललाई ६-० को जित दिलाए । अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।
पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएर फाइनलमा स्थान बनाईसकेको छ । समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।
नेपाल साफको सेमिफाइनलमा, निकाल्यो अर्को शानदार जित
नेपालले घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् । खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । रश्मीले हिराको क्रसमा हेडर मार्फत गोल गरिन् ।
खेलको ११ औं मिनेटमा सरुले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् । खेलको १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३-० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो ।
खेलको ७६ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाईन् । भुटानविरुद्ध डेब्यु गरेकी अमिषाले नेपालको लागि यो पहिलो गोल हो । त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन् । यस जितसँगै नेपालले अपराजित रहदै अन्तिम चारमा स्थान बनाएको हो ।
यस्तै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो। नेपालको जितसँगै भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो ।
भुटानले २ खेलमा ३ अंक जोड्यो । दुई खेलमा पराजित रहदै अंक विहीन बनेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।