साफमा आज २ रोमाञ्चक म्याच हुँदै, खेल्दैछन् यी ४ टिम

काठमाडौं ।

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदैछन् । महिला साफमा आज मंगलबार समूह ‘ए’ को समूह चरणका अन्तिम दुई खेलहरु हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान भिड्ने छन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुखद अन्त्यको योजनामा हुनेछ ।

यस्तै दोस्रो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल साँझ ५:३० मा सुरु हुनेछ । भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तर, यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।

समूह ‘बी’ बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

नेपाल कतारसँग पनि पराजित

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा कतारसँग ३-१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो। खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई २-० को अग्रता दिलाए । दोस्रो हाफमा नेपालले एक गोल फर्काउदा थप एक गोल व्यहोरेको थियो । खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरेपनि कतार ३-१ ले विजयी भयो । यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुआत गरेको छ। कतारले पहिलो खेलमा ३ अंक जोडेको छ ।

लगातार दुई खेल व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २-० गोलले पराजित भएको थियो ।

यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन्। अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ। यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन्। यस हारसँगै नेपालको अर्को वर्ष उज्वेकिस्तानमा हुने यू–२० एसियन कपमा छनोट हुने सम्भावना कठिन बनेको छ। गणितीय रूपमा लगभग पनि नेपालको सम्भावना समाप्त भएको छ।

Leave A Reply

Your email address will not be published.