अमेरिकामाथि पीएनजीको शानदार जित, नेपाललाई ठूलो फाइदा

काठमाडौं।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध पपुवा न्युगिनी (पीएनजी) २६ रनले विजयी भएको छ। मंगलबार अमिनी पार्क, पोर्ट मोरेस्बीमा भएको खेलमा घरेलु टोली पीएनजीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ८५ रन मात्रै बनाउन सक्यो।

अमेरिकाका लागि साइटेज मुक्कामल्लाले ४६, कप्तान मोन्नक पटेलले ३५, गजानन्द सिंहले अविजित ३४, स्टिभन टेलरले २५ र आरोन जोन्सले २४ रन बनाए। बाँकी खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन्।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा पीएनजीका कप्तान असद भालाले उत्कृष्ट बलिङ गरे। उनले ६.२ ओभरमा मात्र १७ रन दिँदै महत्वपूर्ण ३ विकेट लिए। यस्तै, चार्ल्स अमिनीले ३ तथा नर्मन भानुवा, चाड सोपर, डेमियन राभु र सेमो कमियाले १–१ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। उसका लागि कप्तान असद भालाले अर्धशतकीय पारी खेले।

उनले ८९ बलमा ५ चौका र १ छक्ककाको मद्दतमा ६४ रनको योगदान दिए। यस्तै, लेगा सियाकाले ३५, चाड सोपरले २१, हिरी हिरीले १८ सेसे बाउले १६ र चार्ल्स अमिनीले १५ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

अमेरिकाका लागि स्टिभन टेलर उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ३ मेडनसहित ३४ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। यस्तै, क्यामरन स्टिभेन्सनले २, सौरभ नेत्रावलकर, नोस्थुश केन्जिगे, निसर्ग पटेल र जसकरण मल्होत्राले १–१ विकेट हात पारे।

यस जितसँगै पीएनजीले अंक तालिकाको २ अंक थपेको छ। पपुवा न्युगिनीले २२ खेलमा ५ अंकसहित पुछारमा रहेको छ। उसले २ म्याच जित्दा एक खेलमा अंक बाँडेको छ। अमेरिका ३० खेलमा २९ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। उसले १३ म्याच जित्दा १४ खेल हारेको छ।

विश्वकप लिग–२ मा नेपाल अंक तालिको छैटौं स्थानमा रहेको छ। नेपालले अहिलेसम्म २० म्याच खेलेको छ। जसमा नेपालले ८ मा जित र ११ खेलमा हार बेहोरेको छ। नेपालले एक खेल बराबरी खेलेको छ। तेस्रो स्थानमा रहेको अमेरिकालाई पुछारमा रहेको पीएनजीले हराउनु नेपालका लागि ठूलो फाइदा हो।

७ टोली सहभागी यस लिग टूका शीर्ष तीन टोलीले विश्वकप छनोटमा स्थान बनाउँदा बाँकी ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नेछ। पपुवा न्युगिनीमा आइतबारबाट सुरु यस त्रिकोणात्मक सिरिजमा घरेलु टोलीको साथै अमेरिका तथा नामिबिया सहभागी रहेका छन्। लिग–२ मा एक टिमले कूल ३६ म्याच खेल्नेछन्। ओमानले सबै खेल खेलिसकेको छ। ओमान ४४ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

लिग–२ को अंक तालिका :

Leave A Reply

Your email address will not be published.