साफमा पाकिस्तानको शानदार जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं ।

पाकिस्तानले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा माल्दिभ्सलाई ७-० गोल अन्तरले हराउँदै पाकिस्तानले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले एक एक गोल गरिन् । ३९औं मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

खेलको ४८ औं मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २-० को अग्रता दिलाईन् । ५३ औं मिनेटमा नाडियाले गोल गरेपछि पाकिस्तान ३-० ले अघि रह्यो ।

खेलको ७८ औं मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४-० को अग्रता दिलाईन् । खेलको ८४ औं मिनेटमा नाडियाले ह्याट्रिक पूरा गर्दै पाकिस्तानलाई ५-० गोलको अग्रता दिलाइन् । खेलको ९०औं मिनेटमा नाडियाले व्यक्तिगत चौंथो गोल गर्दै पाकिस्तानलाई ६-० को अग्रता दिलाइन् ।

त्यसपछि खेलको इन्जुरी समयमा अनमुलले गोल गरेपछि पाकिस्तान ७-० ले विजयी भयो । यस जितसँगै पाकिस्तानले महिला साफको सुखद अन्त्य गरेको छ । पाकिस्तानले अन्तराष्ट्रिय फुटबलमा आठ वर्षपछि जित निकालेको हो ।

समूह ए को पाकिस्तानले ३ खेलमा ३ अंक जोड्यो । तर, पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउन सकेन । माल्दिभ्स भने जित विहीन घर फर्किएको छ । अंक विहीन माल्दिभ्स समूहको पुछारमा रह्यो ।

यस समूहबाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ। यसै समूहको अन्तिम खेलमा आजै भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। यस खेल साँझ ५:३० बजे सुरु हुनेछ। यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ।

नेपालले घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाइसकेको छ। सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् । खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । रश्मीले हिराको क्रसमा हेडर मार्फत गोल गरिन् ।

खेलको ११ औं मिनेटमा सरुले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् । खेलको १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३-० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

खेलको ७६ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाईन् । भुटानविरुद्ध डेब्यु गरेकी अमिषाले नेपालको लागि यो पहिलो गोल हो । त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन् । यस जितसँगै नेपालले अपराजित रहदै अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो। नेपालको जितसँगै भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो ।

भुटानले २ खेलमा ३ अंक जोड्यो । दुई खेलमा पराजित रहदै अंक विहीन बनेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

Leave A Reply

Your email address will not be published.