आज बहराइनसँग खेल्दै नेपाल, यस्तो छ छनोट हुने सम्भावना

काठमाडौं।

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले तेस्रो खेलमा घरेलु टोली बहराइनको सामना गर्नेछ । नेपाल र बहराइनबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।

बहराइनविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकि नेपालले लगातार दुई खेलमा हार व्यहोरिसकेको छ । पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपालले दुई खेल खेलिसकेको छ ।

बहराइन पनि पहिलो जितको खोजीमा रहेको छ । बहराइन १ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ । बहराइनपछि नेपालले आगामी आइतबार बगलादेशसँग खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन्। लगातार दुई हारसँगै नेपालको अर्को वर्ष उज्वेकिस्तानमा हुने यू–२० एसियन कपमा छनोट हुने सम्भावना कठिन बनेको छ। गणितीय रूपमा पनि नेपालको सम्भावना लगभग समाप्त भएको छ।

यसैबीच श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारत खेल्दै छन्। कोलम्बोको रेस कोर्स ग्राउण्डमा आज हुने फाइनलमा नेपालले भारतको सामना गर्ने भएको हो। यी दुई देशबीचको फाइनल खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ।

फाइनल म्याच खेल्नुअघि नेपाली राष्ट्रिय यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतिक्रिया दिएका थिए। उनले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका थिए। श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल अघि मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक श्रेष्ठले फाइनल खेल कठिन हुने बताएका हुन् ।

‘हिजो भारतले बंगलादेशविरुद्ध उत्कृष्ट खेल्यो। नेपालले पनि उत्कृष्ट खेल्यो। हाम्रो कप्तान टिममा फर्किएका छन्। मलाई लाग्छ फाइनल खेल कठिन खेल हुनेछ,’ मुख्य प्रशिक्षक श्रेष्ठले भनेका थिए। प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो।

दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो । प्रशिक्षक श्रेष्ठले फाइनल खेल अघिल्ला खेलजस्तै महेनत गरेर खेल्ने बताएका छन्।

उनले फाइनलका लागि टिम तयार भएकोसमेत बताएका थिए। ‘खेलाडीहरू पूर्ण फिट छन्। कप्तान फर्किएका छन्। खेलाडीले आफ्नो प्राकृतिक खेल खेलिरहेका छन्। फाइनल खेल टिम गेमको रूपमा खेल्छौं, महेनत गरेर खेल्छौं,’ मुख्य प्रशिक्षक श्रेष्ठले भनेका थिए।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो। भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियो। नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो। बुधबार नेपाल त्यहीँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ। भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिने योजनामा छ।

नेपाल र भारतबीच यस्तो छ हेड टु हेड नतिजा

भारत जहिले पनि नेपालमाथि हाबी हुँदै आएको छ। यो प्रतियोगिता पहिलोपटक साफ यू–१७ को नाममा आयोजना भइरहेको छ। त्यो प्रतियोगितालाई यसअघि यू–१६ र १५ को नामबाट सञ्चालन गरिएको थियो।

सन् २०१३, २०१७ र २०१९ मा गरी तीनपटक प्रतियोगिताको फाइनल प्रवेश गरेपनि नेपालको उपाधि लक्ष्यमा तीनैपटक भारत बाधक बन्यो। सन् २०११ मा साफ यु–१६ को पहिलो संस्करण भएको थियो। नेपाल सेमिफाइनमा भारतसँग पेनाल्टी सुटआउटमा ४–२ ले निराश भयो। सन् २०१३ को संस्करणमा भने नेपाल फाइनमा भारतसँग १–० ले निराश भयो। सन् २०१५ मा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग १–० ले हारेको थियो।

सन् २०१७ मा यु–१५ को उमेर समूहमा सम्पन्न प्रतियोगिताको फाइनलमा पनि नेपाल भारतसँग २–१ ले पराजित भएको थियो। सन् २०१८ र २०१९ को संस्करण पनि यु–१५ को उमेर समूहमा सम्पन्न भएको थियो। जसमध्ये सन् २०१८ मा भने नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो । सन् २०१९ को फाइनलमा भने नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो। आज नेपाललाई इतिहास रच्ने मौका छ। पहिलोपटक फाइनलमा भारतलाई हराउँदै नेपालसँग इतिहास रच्ने मौका रहेकोे हो।

Leave A Reply

Your email address will not be published.