भारतसँग फाइनल खेल्नुअघि यस्तो भन्छन् नेपाली कप्तान

काठमाडौं।

श्रीलंकामा भइरहेको साफ यू–१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन्। कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ। खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ। अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथथ श्रीलंका पुगेको छ।

नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६–० ले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको हो। यस्तै भारतले पहिलो सेमिफाइनलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो। नेपालले समूह चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो।

समूह चरणमा नेपालले भारत र भुटानलाई पराजित गर्दै समूह विजेता बनेको थियो। त्यस खेलमा नेपालले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित निकालेको थियो। नेपालसँग पराजित भएपनि भारतले सेमिफाइनलमा अर्को समूहको विजेता बंगलादेशलाई हराएर फाइनलमा पुगेको हो।

नेपाल भने यस संस्करणमा अपराजित रहेर फाइनल पुगेको हो। समूह चरणमा भुटानलाई दुई र भारतलाई तीन गोल गरेको नेपालले दुवै खेलमा एक–एक गोल बेहोरेको थियो। सेमिफाइनलमा नेपालले श्रीलंकालाई ६–० ले हराउँदै फाइनल पुगेको हो। नेपालले यो उमेर समूहमा भारतसँग फाइनल खेल्न लागेको यो चौथो पटक हो।

यसअघि तीन पटक फाइनमा भेट हुँदा नेपाल सबैमा भारतसँग पराजित भएको थियो। पछिल्लो पटक सन् २०१९ मा भारतमै भएको प्रतियोगितामा नेपाल भारतसँग फाइनलमा ७–० ले पराजित भएको थियो। त्यसअघि २०१३ र २०१७ मा नेपालमै भएको प्रतियोगितामा फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो।

नेपाल एकपटक तेस्रो र एकपटक चौथो भएको थियो। नेपाल पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित श्रीलंका पुगेको छ। भारत यसअघिका ६ संस्करणमध्ये पाँच पटक फाइनल पुगेको भारतले तीन पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेको थियो।

भारतसँग फाइन खेल्नुअघि नेपाली टिमका कप्तान प्रशान्त लक्क्षमले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले भरतलाई हराएर उपाधि जित्ने नै आफूहरूको लक्ष्य रहेको बताएका छन्। फाइनलअघि मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान प्रशान्तले उत्कृष्ट खेल पस्किने जनाएका हुन्।

टिमको उत्कष्ट लयलाई फाइनलमा पनि कायमै राख्ने उनको भनाइ छ। ‘फाइनल खेल केही कठिन त अवश्य हुनेछ। तर, हामी गोर्खाली हौं अन्तिमसम्म भारतसँग लड्नेछौं,’ उनले भने,‘प्रतियोगिता हाम्रा केटाहरूले निकै राम्रो प्रदर्शन गरेका छन्। हामी त्यहीँ प्रदर्शनलाई निरन्तरता दिन्छौं।’

उनले यसअघिको भेटमा भारतलाई हराएकाले टिमको मनोबलसमेत उच्च रहेको बताएका छन्। ‘हामीले अघिल्लो भेटमा पनि भारतविरुद्ध राम्रो खेल्छौं। पुनरागमन गर्दै जित निकालेका थियौं। त्यसले हाम्रो मनोबल पनि बढेको छ। फाइनलमा हामी दबाबबिना खेल्छौं र उपाधि जित्छौं।’

यस्तै, नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले नेपालले आफ्नो न्याचुरल गेम खेल्ने र टिम एकता राम्रो रहेको बताए। ‘हाम्रो कप्तान फर्केका छन्। टिममा एकता राम्रो छ। कडा मिहिनेत गर्नेछौँ’ प्रशिक्षक उर्जनले भने, ‘फाइनल धेरै प्रतिस्पर्धात्मक हुनेछ।’ श्रेष्ठले सेमिफाइनलमा नेपाल र भारत दुवैले राम्रो खेलेको बताए। ‘भारतले हिजो बंगलादेशसँग राम्रो खेल्यो। नेपालले पनि राम्रो खेलेको छ। हाम्रो कप्तान ब्याक भएका छन्।’

Leave A Reply

Your email address will not be published.