बहराइनसँग खेल्नुअघि यस्तो भन्छन् प्रशिक्षक केसी

काठमाडौं।

नेपाली यू-२० पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले नेपालको एएफसी यू-२० एसियन कपमा छनोट हुने सम्भावना न्यून रहेको बताएका छन् । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा घरेलु टोलीसँगको खेलअघि प्रशिक्षक केसीले नेपालको छनोट हुने सम्भावना न्यून रहेको बताएका हुन् ।

प्रशिक्षक केसीले लगातार दुई खेलमा हार व्यहोरिसकेको कारण नेपालको सम्भावना कम रहेको बताएका हुन् । ‘छनोट हुने सम्भावना न्युन छ । समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न गाह्रो छ । किनभने हामीले दुई खेल हारिसकेका छौं,’ प्रशिक्षक केसीले भने । छनोटको पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो ।

छनोटको तेस्रो खेलमा नेपालले आज बुधबार बहराइनसँग खेल्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने नेपाल र बहराइनबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ । प्रशिक्षक केसीले बहराइनविरुद्ध टिमले शतप्रतिशत खेल्ने बताए ।

‘आज नेपाली टिमको सतप्रतिशत खेल हेर्न पाइन्छ । पहिलो खेलमा शारिरीकरुपमा पूर्ण तयार थिएनौं । कतारको स्तर धेरै माथिको थियो । त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ,’ उनले भने, ‘करिब सात दिन भयो बहराइन आएको, हामी, हाम्रा खेलाडी यहाँको समय र वातावरणसँग घुलमिल भइसकेका छन् । त्यसैले राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो ।’

समूह ‘बी’ मा रहेको नेपाल अंकविहीन रहदै समूहको पुछारमा रहेको छ । बहराइनपछि नेपालले आगामी आइतबार बगलादेशसँग खेल्नेछ।प्रशिक्षक केसीले नेपाली टोलीको लक्ष्य छनोट हुने भन्दा पनि राम्रो प्रदर्शन गर्ने रहेको बताए ।

‘एएफसी यु २० एसियन कपमा छनोट हुनेभन्दा पनि हामी राम्रो प्रदर्शन गर्ने हाम्रो प्रमुख लक्ष्य हो,’ प्रशिक्षक केसीले थपे। छनोटबाट समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् । यस्तै छनोटको उत्कृष्ट हुने दोस्रोले पनि एसियन खेल्नेछ ।

Leave A Reply

Your email address will not be published.