काठमाडौं।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ७८ रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिला ब्याटिङको मौका पाएको आर्मीले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनायो।
उसका लागि कप्तान विनोद भण्डारी र अर्जन साउँदले उत्कृष्ट अर्धशतकीय पारी खेले। विनोदले २९ बलमा ७ छक्का र २ चौकाको मद्दतमा अविजित ६६ रनको योगदान दिए। उनले मात्रै २२ बलमै अर्धशतक पूरा गरेका थिए।
अर्जुनले ३४ बलमा ७ चौका र २ छक्कासहित ५३ रन जोड्दा भीम सार्की १५, रोहितकुमार पौडेल र राजेश पुलामी मगरले १४-१४ रन बनाए। बलिङमा करणले २ तथा ललितनारायण राजवंशीले १-१ विकेट लिए। वर्षाले प्रभावित खेल १९ ओभरमा झारिएको हो।
यस्तै, नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेटमा कर्णाली प्रदेशले बुधबार गण्डकी प्रदेशलाई हराएको छ। कीर्तिपुरस्थित टियु मैदानमा १३ ओभरमा घटाईएको खेलमा कर्णालीले गण्डकीलाई ८ रनले हराएको हो ।
कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि सन्दीप क्षेत्रीले ४९ रन बनाए । अनिल गुरुङले १४ तथा ईश्वर क्षेत्रीले ८ रन बनाए ।
कर्णालीका दिनेश अधिकारीले ३ तथा प्रकाश जैसी र अनुज चुनाराले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले १३ ओभरमा ७ विकेट गुमाएर ९३ रन जोडेको थियो । कर्णालीका लागि प्रकाश जैसीले १९ रन जोडे । विपिन रावल र सुवाश एयरले १३/१३ तथा सुमित बुढाथोकीले अविजित १२ रन बनाए।
दिनेश अधिकारी पनि १२ रनमा आउट भए । गण्डकीका अमृत गुरुङले ४ विकेट लिए। यस जितसँगै कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । समूह ‘ए’ को कर्णाली तेस्रो स्थानमा रहेको छ। गण्डकीले ४ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ।