पुलिसमाथि आर्मीको रोमाञ्चक जित, यस्तो बन्यो सेमिफाइनल समीकरण

काठमाडौं।

त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै समूह ‘ए’ को विजेताको रूपमा आर्मी सेमिफाइनलमा पुगेको हो।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले निर्धारित १८ ओभरमा ८ विकेट गुमाउँदै १ सय १ सय ६४ रन बनायो। उसका लागि आरिफ शेख ४० रनको योगदान दिए। उनले २४ बलमा १ चौका र ३ छक्का हिर्काएका थिए।

यस्तै, सुनिल धमलाले २७, दिलिप नाथले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले २१, योगेन्द्रसिंह कार्कीले १४, पवन सरार्फले १३ र करन केसीले ९ रन बनाए। आर्मीका लागि शाहब आलम र सोमपाल कामीले समान २–२ तथा जितेन्द्र मुखिया र सुसन भारीले समान १–१ विकेट लिए।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिला ब्याटिङको मौका पाएको आर्मीले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनायो। उसका लागि कप्तान विनोद भण्डारी र अर्जन साउँदले उत्कृष्ट अर्धशतकीय पारी खेले। विनोदले २९ बलमा ७ छक्का र २ चौकाको मद्दतमा अविजित ६६ रनको योगदान दिए। उनले मात्रै २२ बलमै अर्धशतक पूरा गरेका थिए।

अर्जुनले ३४ बलमा ७ चौका र २ छक्कासहित ५३ रन जोड्दा भीम सार्की १५, रोहितकुमार पौडेल र राजेश पुलामी मगरले १४-१४ रन बनाए। बलिङमा करण केसीले २ तथा  ललितनारायण राजवंशीले १-१ विकेट लिए। वर्षाले प्रभावित खेल १९ ओभरमा झारिएको थियो।

जितसँगै आर्मीको ५ खेलमा ८ अंक जोडेको छ। आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यस समूहबाट ५ खेलमा ६ अंक जोडेको पुलिस उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ। पुलिस कर्णाली प्रदेशसँग समान अंक भएपनि रनरेटमा अघि रहेर सेमिफाइनल पुगेको हो।

समूह ‘बी’ बाट भने एनआरएनए स्पोर्टस एकेडेमी तथा सुदुरपश्चिम यस अघि नै सेमिफाइनल पुगिसकेका छन्। सेमिफाइनल खेल बिहीबार हुनेछ । अब सेमिफाइनलमा आर्मीले सुदूरपश्चिमसँग खेल्दा पुलिसले एनआरएनएसँग खेल्नेछ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भइरहेको हो । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ।

Leave A Reply

Your email address will not be published.