काठमाडौं ।
श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा जारी खेलको पहिलो हाफ सकिदा भारतले २-० गोलको अग्रता लिएको छ ।
खेलको १८ औं मिनेटमा ड्यानी मिटाइले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।
भारतविरुद्ध नेपाल १० खेलाडीमै सीमित भएको छ। खेलको ३८औं मिनेटमा नेपाली कप्तान प्रशान्त लक्षमले भारतीय खेलाडीलाई फउल गरेको भन्दै रेफ्रीले उनलाई रेड कार्ड दिए। भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।
नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ । तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएको थियो ।
दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएर भारतसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो ।
नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । नेपाल त्यहिँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ । यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।