पीएसजीको उत्कृष्ट कमब्याक जित, फेरि चम्किए यी खेलाडी

काठमाडौं।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। समूह चरण अन्तर्गत बुधबार राति माक्काबी हाइफालाई ३-१ गोल अन्तरले हराउँदै पीएसजीले दोस्रो जित निकालेको हो ।

पीएसजीले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको २४ औं मिनेटमा चेरीले गोल गर्दै हाइफालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ३७ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । ६९ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दा पीएसजी २-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८८ औं मिनेटमा नेयमारले गोल गर्दा पीएसजी ३-१ ले विजयी भयो । यस जितसँगै पीएसजीले २ खेलबाट ६ अंक जोडेको छ ।

समूह ‘एच’ को पीएसजी शीर्ष स्थानमा रहेको छ।हाइफाको यो लगातार दोस्रो हार हो । अंकविहीन हाइफा पुछारमा रहेको छ।

म्यान्चेस्टर सिटीको जित

इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले हराउँदै सिटीले दोस्रो जित निकालेको हो ।

रोमान्चक खेलमा सुरुआती एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । खेलको ५६ औं मिनेटमा जुड वेलीङघमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८० औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा एर्लिङ हालाण्डले पूर्व क्लबविरुद्ध गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह ‘जी’ को सिटीले २ खेलमा ६ अंक जोडेको छ । सिटी समूहको शीर्ष स्थानमा रहेको छ । डर्टमण्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसैगरी इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ । समूह चरण अन्तर्गत बुधबार राति चेल्सीले अष्ट्रियन क्लब आरबी साल्जवर्गसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलुु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्नु परेको हो । खेलको ४८ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५७ औं मिनेटमा नोः ओकाफोरले गोल गर्दै साल्जवर्गलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै चेल्सीले पहिलो अंक जोडेको छ ।

चेल्सीका नवनियुक्त मुख्य प्रशिक्षक ग्राहम पोटरको यो पहिलो खेल समेत हो । समूह ‘ई’ को चेल्सीले २ खेलमा १ अंक जोडेको छ । चेल्सी समूहको पुछारमा रहेको छ । साल्जवर्ग २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.