अन्ततः बाहिरियो भारतसँग नेपाल हार्नुको ठूलो कारण

काठमाडौं।

श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितन् नेपाल असफल भएको छ। कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बन्न सफल भयो। फेरि नेपालको उपाधि सपनामा भारत नै बाधक बन्यो।

भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे। कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको १८ औं मिनेटमा बोबीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए ।

खेलको ६३ औं मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४-० को जित दिलाए । यस जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ ।

यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ । नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । समूह चरणमा नेपालले भारत र भुटानलाई पराजित गर्दै समूह विजेता बनेको थियो। त्यस खेलमा नेपालले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित निकालेको थियो। नेपालसँग पराजित भएपनि भारतले सेमिफाइनलमा अर्को समूहको विजेता बंगलादेशलाई हराएर फाइनलमा पुगेको थियो।

नेपाल भने यस संस्करणमा अपराजित रहेर फाइनल पुगेको थियो। समूह चरणमा भुटानलाई दुई र भारतलाई तीन गोल गरेको नेपालले दुवै खेलमा एक–एक गोल बेहोरेको थियो। सेमिफाइनलमा नेपालले श्रीलंकालाई ६–० ले हराउँदै फाइनल पुगेको थियो। नेपालले यो उमेर समूहमा भारतसँग फाइनल खेलेको यो चौथो पटक थियो। तर, चारै पटक नेपाल पराजित भयो।

यसअघि तीन पटक फाइनमा भेट हुँदा नेपाल सबैमा भारतसँग पराजित भएको थियो। पछिल्लो पटक सन् २०१९ मा भारतमै भएको प्रतियोगितामा नेपाल भारतसँग फाइनलमा ७–० ले पराजित भएको थियो।

त्यसअघि २०१३ र २०१७ मा नेपालमै भएको प्रतियोगितामा फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपाल एकपटक तेस्रो र एकपटक चौथो भएको थियो। पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित श्रीलंका पुगेको नेपाल उपविजेतामै सीमित रह्यो। भारतले चौथो पटक उपाधि जित्यो।

नेपाल हार्नुका कारणहरू

नेपालले सुरुवातमा भारतविरुद्ध केही आक्रामक बन्ने प्रयास गर्‍यो। तर, गोल गर्न भने चुक्यो। नेपालले सुरुमा केही ओभर कन्फिडेन्ट देखायो। सोही कारण गोल खान पुग्यो। ओभर कन्फिडेन्ट हुनु पनि नेपालको हारको कारण बन्यो।

नेपालले १५ मिनेटसम्म ठीकठाक प्रदर्शन गरिरहेको थियो। त्यसको केही मिनेटमै गोल खाएपछि नेपाली खेलाडीहरूले दबाब महसुस गरे। नेपालले १७औँ मिनेटमा गोल खाएको थियो। नेपाल हार्नुको कारण फाइनलको दबाब पनि रह्यो। यसका साथै पहिलो हाफमै दुई गोल र १० खेलाडीमा सीमित हुनु पनि नेपाल हार्नुको अर्का कारण हो।

खेलको ३९औं मिनेटमा कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएपछि नेपाल दश खेलाडीमा समेटिएको थियो। बल खोस्ने क्रममा उनीमाथि भारतीय खेलाडी लडेर ढाड ठोक्किन पुग्दा रेफ्रीले सीधै रातो कार्ड देखाएका थिए। प्रशान्तले आफ्नो कुनै गल्ती नभएको बताएपनि रेफ्री आफ्नो निर्णयबाट पछि हटेनन्। र, नेपाल १० खेलाडीमा सीमित हुन पुग्यो। कप्तान नै बाहिरिएपछि नेपालले थप दबाब महसुस गर्‍यो। सोही कारण नेपालले दोस्रो हाफमा दुई गोल खायो।

अघिल्लो म्याचभन्दा फाइनलमा नेपालको डिफेन्समा पनि चुक्यो। नेपालको डिफेन्स लाइन मात्रै होइन, फरवार्ड लाइन पनि चल्न सकेन। यस्तो लाग्थ्यो पहिलो हाफको सुरुमा नै ठूलो एरिया कभर गरिरहेका खेलाडी दोस्रो हाफमा स्टामिना गुमाइसकेका थिए। जुन उपाधि जित्न सपनामा बाधक बन्यो।

Leave A Reply

Your email address will not be published.