काठमाडौं।
विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल मंसिर ४ गतेबाट सुरु हुँदैछ। कतारमा हुन लागेको विश्वकपको उपाधिका लागि ३२ मैदानमा उत्रिँदै छन्। एसियाली राष्ट्रमा दोस्रो पटक हुन लागेको प्रतियोगिताका लागि सबै राष्ट्रका समर्थकहरू तयार छन्। आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै उपाधि जित्नका लागि उत्सुक छन्।
हरेक चार वर्षपछि आउने विश्वकप फुटबलको रौनक बेग्लै हुन्छ। अन्य प्रतियोगिताभन्दा अलग चाम हुन्छ विश्वकप फुटबल। सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप सन् २०२२ मा कतारमा २२औँ संस्करण हुँदैछ।
लिग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ। विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्। चार पटक विश्व विजेता जर्मनी, दुई पटक विश्व विजेता फ्रान्स, एक पटक विश्व विजेता स्पेन र इंग्ल्याण्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्याण्ड र वेल्स कतारमा खेल्नेछन्।
एशियाबाट छ देश विश्वकप खेल्नका लागि छनोट भएका छन।् जसमा जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार छन्। अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन्। त्यस्तै दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन्।
दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता आर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिदै छन्। उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन्।
सबैभन्दा धेरैपटक विश्वकप जिते देश ब्रजिल हो। ब्रजिलले पाँच पटक विश्वकपको उपाधि जितेको छ। उसले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विश्वकप उपाधि उचालेको छ। जर्मनीले चार पटक सन् १९५४, १९७४, १९९०, २०१४ मा विश्वकपको उपाधि जितेको थियो।
इटलीले चार पटक विश्वकपको उपाधि जितेको छ। उसले सन् १९३४, १९३८, १९८२, २००६ को विश्वकप जितेको थियो। आर्जेन्टिनाले दुई पटक सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेको थियो।
फ्रान्सले पनि दुई पटक सन् १९९८ र २०१८ मा उपाधि जितेको थियो। उरुग्वेले दुई पटक सन् १९३० र १९५० मा विश्वकप जितेको थियो। स्पेन एक पटक सन् २०१० र इंग्ल्याण्डले पनि एक पटक सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो।
विश्वकपअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड अर्जेन्टिनी लियोनल मेस्सी लयमा देखिएका छन्। पीएसजीका फरवार्ड मेस्सीले नयाँ कीर्तिमान बनाएका छन्। मेस्सीले च्याम्पियन्स लिगमा ३९ फरक क्लबविरुद्ध गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
यससँगै उनले युइएफए च्याम्पियन्स लिगमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन्। च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा इजरायली क्लब मकावी हाइफाविरुद्ध एक गोल गरेसँगै उनले रोनाल्डोको कीर्तिमान भंग गरेका हुन्।
३५ वर्षीय मेस्सीले च्याम्पियन्स लिगमा ३९ फरक क्लबविरुद्ध गोल गर्ने खेलाडी बने। यसअघि रोनाल्डोको नाममा ३८ फरक क्लबविरुद्ध गोल गर्ने कीर्तिमान थियो। यसका साथै मेस्सी च्याम्पियन्स लिगमा आफूले खेलेका सबै १९ राष्ट्रका क्लबविरुद्ध गोल गर्न सफल भएका छन्।
यस्तै मेस्सीले च्याम्पियन्स लिगको लगातार १८औं सिजनमा गोल गर्ने अर्को कीर्तिमान पनि बनाएका छन्। उनले सन् २००५–०६ मा बार्सिलोनाको लागि च्याम्पियन्स लिगमा पहिलो गोल गरेका थिए।
त्यसयताको सबै सिजनमा मेस्सी गोल गर्न सफल भएका छन्। च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान रोनाल्डोकै नाममा छ। रोनाल्डोले कूल १ सय ४० गोल गरेका छन्। दोस्रोमा रहेको मेस्सीले १ सय २६ गोल गरेका छन्।