दीपेन्द्रको टिम पुग्यो फाइनलमा, निकाल्यो रोमाञ्चक जित

काठमाडौं।

नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरएन स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिस फाइनल पुगेको हो ।

पुलिसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको एनआरएनए ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनायो। उसका लागि कप्तान सुनाम गौतमले २५ बलमा ४ छक्का र २ चौकाको मद्दतले ४६ रन बनाए। सागर पुनले २० बलमा ३७ रन बनाए।

पुलिसका लागि योगेन्द्रसिंह कार्कीले २ तथा पवन सरार्फले १ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो। उसका लागि आरिफ शेखले १५ बलमा ३ छक्का ३ चौकाको मद्दतले ३६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १२ बलमा २५ रन बनाए।

करण केसीले ७ बलमा १८ तथा कुशल भुर्तेलले ५ बलमा १२ रन बनाए । एनआरएनएका लागि दिवास गिरीले २ तथा दिपक क्षेत्री,कप्तान सुनम गौतम र दिनेश खरेलले समान १/१ विकेट लिए । अब पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

पहिलो सेमिफाइनल रद्द भएपछि आर्मी फाइनल पुगेको हो । समूह ‘ए’ को विजेताको हैसियतमा आर्मी फाइनल पुगेको हो । समूह ‘बी’ को उपविजेता रहेकोले सुदूरपश्चिम प्रदेश भने बाहिरिएको थियो ।

अब एनआरएनएले तेस्रो स्थानका लागि शुक्रबार सुदुरपश्चिम प्रदेशसँग खेल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भइरहेको हो।

Leave A Reply

Your email address will not be published.