काठमाडौं।
बंगलादेश नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।
बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।
अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।
घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।
नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ। तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ ।
नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो ।
भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ । नेपालविरुद्ध भारत आफ्नो विरासत कायम राख्न चाहन्छ ।
समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो। समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपाल समूह चरणमा विजेता बनेको थियो ।
भारतले समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोरेको थियो ।