काठमाडौं।
घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।
नेपालले भारतसँग खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको छ। नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ ।
नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो ।
भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ । नेपालविरुद्ध भारत आफ्नो विरासत कायम राख्न चाहन्छ ।
समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो। समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपाल समूह चरणमा विजेता बनेको थियो ।
भारतले समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोरेको थियो ।
यस्तो छ हेड टु हेड नतिजा
अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालमाथि भारत हाबी हुँदै आएको छ। यी दुई देशबीच आज एक अर्को खेल हुँदैछ। यो दुई टिमबीचको १५औं म्याच हो। अहिलेसम्म भएका १४ खेलमा भारत नै हाबी छ। जसमा नेपालले ११ म्याचमा हार, दुई बराबरी र एक जित मात्रै जितेको छ।
नेपालले भारतको सामना गर्दायताको सुरुवाती पाँच खेलमा नेपाल लगातार पराजित रह्यो। त्यसपछि सन् २०१६ मा पहिलो बराबरीमा निस्क्यो, १२औं दक्षिण एसियाली खेलकुदका क्रममा।
त्यसपछि थप दुई हारपछि नेपालले एक अर्को बराबरीमा निकालेको थियो, सन् २०१८ मा। अवसर थियो, वुमेन्स प्रारम्भिक ओलम्पिक छनोट। भारतमाथि नेपालको एकै मात्र जित भने सन् २०१९ मा रह्यो। त्यति बेला नेपालले वुमेन्स गोल्डकपमा भारतलाई भारतमै २–१ ले हराएको थियो। फेरि त्यसयतामा चार खेलमा नेपाल पराजित रहेको छ।
भुवनेश्वरमा प्राप्त त्यसमा जितमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्। भारतविरुद्ध सर्वाधिक गोल गर्ने पनि उनी नै हुन्। अहिलेसम्म नेपालले भारतविरुद्ध आठ गोल गरेको छ, त्यसमध्ये चार गोल सावित्राकै नाममा छ। त्यसपछि निरु थापाले दुई गोल गरेकी छिन्। अनि जमुना गुरुङ र दीपा अधिकारीले एकएक गोल गरेकी छन्।