महिला साफले यसरी पाउँदैछ नयाँ च्याम्पियन

काठमाडौं।

नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। पाँच पटकको च्याम्पियन भारतलाई १-० गोलले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। नेपाल यससँगै महिला साफमा पाँचौपटक फाइनलमा पुग्यो। यसअघि चार पटकको फाइनलमा भने नेपाल पराजित हुँदा उपाधि विमुख भएको थियो।

नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन्। प्रिति राईले मिहिनेत गरेर दिएको क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।

दशरथ रंगशालामा उपस्थित सात हजार दर्शकसामू भारतलाई पराजित गरेको नेपालले अब उपाधिका सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८-० गोलको जित निकालेको थियो।

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।

नेपालसँग पराजित भएसँगै भारत पहिलोपटक साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। भारत बाहिरिएसँगै महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने भएको छ। यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो।

भारतले पाँचपटक उपाधि जित्दा फाइलनमा नेपाललाई चारपटक र बंगलादेशलाई एकपटक हराएको थियो। नेपाल यसअघि २०१६ बाहेक सबै साफको फाइनलमा पुगेको थियो। सन् २०१६ को साफमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो।

नेपालले भारतलाई साफमा हराएको यो पहिलोपटक हो। समग्रमा भने नेपालले भारतलाई दोस्रोपटक पराजित गरेको हो। यसअघि नेपालले हिरो गोल्डकपमा भारतमाथि जित निकालेको थियो।

Leave A Reply

Your email address will not be published.