भारतविरुद्धको ऐतिहासिक जितबारे यस्तो भन्छन् प्रशिक्षक थापा

काठमाडौं।

भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो। महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो।

हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन्। पहिलो हाफको अन्तिम मिनेटमा प्रिती राईको पासमा घिसिङले निर्णायक गोल गरिन्। यसअघि प्रिति राईले ३३औं मिनेटमा डी बक्स बाहिरबाट हानेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।

पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा नेपालले सुरुवातदेखि नै भारतमाथि दबाब बनाउन थाल्यो। ५० मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैशीले बक्स भित्रबाट हानेको हेडर भारतकी गोलकिपर अदिती चौहानले पञ्च गर्दै बाहिर फालिन्।

६४ मिनेटमा प्रिति राईले बक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमायो। पाँच पटकको बिजेता भारतले पनि दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन।

समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराउँदा नेपालको डिफेन्स र गोलकिपिङ खासै टेष्ट भएको थिएन। तर भारतविरुद्ध भने नेपालको डिफेण्डर र गोलकिपरले कडा मिहिनेत पर्‍यो। कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले राम्रो बचाउ गरिन्।

दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन। अब नेपालले उपाधिका लागि बंगलादेशसँग सोमबार खेल्नेछ। बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।

नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो। यसअघि चारपटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। २०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो। त्यसपछि पहिलो पटक महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका थापाले भारतसँग मिठो बदला पनि लिएका छन्।

भारतलाई हराएपछि नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले प्रतिक्रिया दिएका छन्। उनले भारतविरुद्ध महिला साफमा जित निकाल्न आफूहरुले विगत १२ वर्षबाट प्रतीक्षा गरेको बताएका छन्।

भारतलाई हराउँदै महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेपछि बोल्दै प्रशिक्षक थापाले यस जितका लागि लामो समय कुरेको बताएका हुन्। प्रशिक्षक थापाले खेलाडीको मिहेनतले यो सम्भव भएको बताए। ‘हामी लामो समयदेखि यसको पर्खाइमा थियौं। विगत १२ वर्षदेखि,’ उनले भने, ‘सबै समर्थक, खेलाडी खुसी छन्। मलाई धेरै भन्नु छैन। खेलाडीले जित दिलाएँ।’

नेपालले सेमिफाइनलमा भारतलाई हराएसँगै बधाईको ओइरो छ। यसैक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली टिमलाई बधाई दिएका छन्। उनले म्याच सकिएलगत्तै सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन्। उनले भनेका छन्, ‘भारतविरुद्ध एतिहासिक जितको लागि बधाई छ टिम नेपाल।’

Leave A Reply

Your email address will not be published.