काठमाडौं।
भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो। महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो।
हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन्। पहिलो हाफको अन्तिम मिनेटमा प्रिती राईको पासमा घिसिङले निर्णायक गोल गरिन्। यसअघि प्रिति राईले ३३औं मिनेटमा डी बक्स बाहिरबाट हानेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।
पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा नेपालले सुरुवातदेखि नै भारतमाथि दबाब बनाउन थाल्यो। ५० मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैशीले बक्स भित्रबाट हानेको हेडर भारतकी गोलकिपर अदिती चौहानले पञ्च गर्दै बाहिर फालिन्।
६४ मिनेटमा प्रिति राईले बक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमायो। पाँच पटकको बिजेता भारतले पनि दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन।
समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराउँदा नेपालको डिफेन्स र गोलकिपिङ खासै टेष्ट भएको थिएन। तर भारतविरुद्ध भने नेपालको डिफेण्डर र गोलकिपरले कडा मिहिनेत पर्यो। कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले राम्रो बचाउ गरिन्।
दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन। अब नेपालले उपाधिका लागि बंगलादेशसँग सोमबार खेल्नेछ। बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।
नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो। यसअघि चारपटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। २०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो। त्यसपछि पहिलो पटक महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका थापाले भारतसँग मिठो बदला पनि लिएका छन्।
साम्बाको प्रतिक्रिया
भारतविरुद्धको सेमिफाइनल नेपाली टिमकी सावित्रा भण्डारी ‘साम्बा’ खेलिनन् । बेन्चमा भए पनि उनी मैदानमा भने मौका पाइनन् । केही दिनअघि मात्र डेंगु संक्रमित भएकी साम्बाले अझै पूर्णरूपमा स्वास्थ्यलाभ नगरेकाले पनि भारतविरुद्ध नखेलेकी हुन् ।
यसैबीच, उनले भारतविरुद्धको ऐतिहासिक जितपछि प्रतिक्रिया दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत नेपालको जितबारे प्रतिक्रिया दिएकी हुन्। साम्बाले लेखेकी छन्, ‘भारतविरुद्धको जितको वर्णन गर्न मसँग शब्द छैन। कडा मिहिनेतले टिमले सफलता पायौं। अब फाइनलका लागि हामीले उत्कृष्ट प्रदर्शन गर्नेछौं।’
प्रिती राईको प्रतिक्रिया
भारतलाई हराएपछि मिडफिल्डर प्रिती राईले प्रतिक्रिया दिएकी छन्। उनले सुरुवाती–११ मै खेल्न पाउँदा आफू केही नर्भस रहेको बताइन्। खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले बलियो प्रतिस्पर्धी भारतसँग खेल्दा केही नर्भस भएको तर दबाब भने आफू महसुस नगरेको बताएकी हुन्।
‘प्रशिक्षणका क्रममा मलाई मेरो खेल केही घटेको जस्तो महसुस भएको थियो। मलाई एक्कासि खेलमा खेल्न सक्नु वा सक्दिँन भन्ने थियो,’ उनले भनिन्,‘मलाई यति त विश्वास थियो कि मैदानमा गइसकेपछि आफ्नो शतप्रशितक दिन्छु। राम्रो नराम्रो भन्ने कुरा आफ्नो ठाउँमा छँदैछ। तर, आफ्नो बेस्ट दिन्छु राम्रो गर्छु।’
प्रशिक्षकले देखाएको विश्वासलाई प्रमाणि गरेर देखाउँछु भन्ने लक्ष्यसहित आफूले खेल खेलेको उनको भनाइ थियो। ‘ममाथि दबाब थिएन। नर्भन चाहिँ थिएँ। राम्रो गर्छ वा गर्दैन भन्ने डर भने थियो,’ उनले थपिन्। उनले यो जितका लागि सबैजना पर्खाइमा रहेको बताइन्। उनले भारतविरुद्धको जित आफ्नो लागि मात्रै नभई परिवार, सबै टिम र सम्पूर्ण नेपालीहरूका लागि नै विशेष रहेको उल्लेख गरिन्।