नामिबियाको अर्को शानदार जित, यस्तो बन्यो लिग–२ को अंक तालिका

काठमाडौं।

पपुवा न्यूगिनीमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नामिबियाले ६८ रनले विजयी भएको छ। शनिबार अमिनी पार्कमा नामिबियाले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन मात्र बनाउन सक्यो।

उसका लागि गजानन्द सिंहले सर्वाधिक ३२, कप्तान मोनांक पटेलले ३०, सैतेजा रेड्डी मुक्कामल्लाले २९, क्यारोन स्टेभनसनले अविजित २८ र नस्तुष केन्जिगेले २८, जसकरण मल्होत्राले २२ तथा स्टेभन टेलरले १३ रनको योगदान दिए।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले ३, टांगोनी नुङ्गाम्यानले २ तथा रुवेन ट्रम्पलम्यान र कप्तान गर्हार्ड इरास्मसले १÷१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५४ रन बनाएको थियो। उसका लागि गेर्हार्ड इरास्मस, लो ह्यान्डरी लोरेन्स र स्टेफन बार्डले अर्धशतकीय पारी खेले।

इरास्मसले ७२ बलमा ९ चौका र एक छक्काको मद्दतमा ८७ रन बनाउँदा लोरेन्सले १०५ बलमा ३ चौकासहित ५७ रन जोडे। बार्डले ७० बलमा ५ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाए। जेजे स्मित २९ रनमा अविजित रहे।

अमेरिकाका लागि शौरभ नेत्रावाल्करले २ तथा क्यामरोन स्टेभनसन र स्टेभन टेलरले १–१ हात पारे। यस जितसँगै नामिबियाले महत्वपूर्ण २ अंक थपेको छ। नामिबिया २० खेलमा २२ अंक जोडेर पाँचौं स्थानमा छ। अमेरिका तेस्रो स्थानमा छ। उसले ३२ खेलमा २९ अंक जोडेको छ।

विश्वकप लिग–२ मा नेपाल अंक तालिको छैटौं स्थानमा रहेको छ। नेपालले अहिलेसम्म २० म्याच खेलेको छ। जसमा नेपालले ८ मा जित र ११ खेलमा हार बेहोरेको छ। नेपालले एक खेल बराबरी खेलेको छ।

७ टोली सहभागी यस लिग टूका शीर्ष तीन टोलीले विश्वकप छनोटमा स्थान बनाउँदा बाँकी ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नेछ। पपुवा न्युगिनीमा आइतबारबाट सुरु यस त्रिकोणात्मक सिरिजमा घरेलु टोलीको साथै अमेरिका तथा नामिबिया सहभागी रहेका छन्।

लिग–२ मा एक टिमले कूल ३६ म्याच खेल्नेछन्। ओमानले सबै खेल खेलिसकेको छ। ओमान ४४ अंकका साथ शीर्ष स्थानमा रहेको छ। स्कटल्याण्ड दोस्रो स्थानमा रहँदा यूएई चौथो नम्बरमा छ। पपुवा न्युगिनीले २२ खेलमा ५ अंकसहित पुछारमा रहेको छ। जसमा उसले २ म्याच जित्दा एक खेलमा अंक बाँडेको छ।

Leave A Reply

Your email address will not be published.