नेपालमा लिग क्रिकेट खेलेका मुस्तफालाई यूएईले यसकारण टिमबाट निकाल्यो

काठमाडौं।

अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि यूएईले टिम घोषणा गरेको छ। यूएईले सीपी रिजवानको कप्तानीमा यूएईले १५ सदस्सीय टोलीको घोषणा गरेको हो। युवा विकेटकिपर वृत्त अरविन्दले उपकप्तानको जिम्मेवारी पाएका छन्।

एसोसिएट क्रिकेटका सफल अलराउन्डर रोहन मुस्तफा टिममा रहेका छैनन्। मुस्तफा यूएईका कीर्तिमानी खेलाडी हुन्। उनी यूएईका लागि सबैभन्दा बढी टी–२० आई विकेट लिने खेलाडी हुन्। उनले ५५ टी–२० आई खेलमा ६१ विकेट लिएका छन्।

यसका साथै मुस्तफा टी–२० अन्तर्राष्ट्रियमा यूएईका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। उनले ४ अर्धशतकसहित कुल ९ सय ८४ रन बनाएका छन्। एकदिवसीयमा पनि उनको प्रदर्शन उत्कृष्ट नै छ। उनले ५४ एकदिवसीय म्याचमा ५६ विकेट लिएका छन्।

उनी यूएईका लागि सर्वाधिक वानडे विकेट लिने तेस्रो खेलाडी हुन्। मुस्तफाले एकदिवसीयमा यूएईका लागि एक शतक र ५ अर्धशतकको मद्दतमा कुल १ हजार १ सय ७ रन बनाएका छन्। यूएईका लागि एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन्।

विश्वकप छनोटका क्रममा उनले बोर्डप्रति असन्तुष्टि पोखेका थिए। सोही कारण उनलाई टिमबाट निकालिएको बुझिएको छ। रोहनले योग्य खेलाडीलाई चिन्ह नसकेको आशययुक्त टिप्पणी गरेका थिए। त्यसपछि उनी र बोर्डबीचको सम्बन्ध राम्रो भएन। फलस्वरूप अन्ततः बोर्ड विश्वकप खेल्ने टिमबाट नै आउट गरिदिएको छ।

उनी नेपाली क्रिकेट समर्थकमाझ परिचित छन्। उनले नेपालका टी–२० लिग ईपीएल, पीपीएल र डीपीएललगायत खेलेका छन्। उनले यहाँका विभिन्न टिमको प्रतिनिधित्व गर्दै यी लिगहरू खेलेका छन्। टी–२० लिगमा उनको प्रदर्शन पनि राम्रो हुन्थ्यो।

टी–२० विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुँदैछ। यूएईले अघिल्लो संस्करणमा सहभागी रहेको थिएन। यूएई विश्वकपमा पहिलो चरणको समूह ‘ए’ मा छ। यूएईले नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

विश्वकपअघि युएईले बंगलादेशसँग २५ र २७ सेप्टेम्बरमा दुई टी–२० अन्तर्राष्टि म्याच खेल्ने तालिका छ। वार्मअप खेलमा यूएईले वेष्ट इण्डिजसँग १० अक्टोबर र १३ अक्टोबरमा स्कटल्याण्डसँग खेल्ने भएको छ।

विश्वकप खेल्ने यूएईको टोली :

सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप कप्तान), चिराग सुरी, मोहम्मद वसीम, बासिल हमीद, आर्यन लाक्रा, जवर फरीद, काशिफ दाउद, कार्तिक मयप्पन, अहमद रजा, जहूर खान, जुनैद सिद्दिकी, साबिर अली, अलीशान शराफु र अयान खान।

Leave A Reply

Your email address will not be published.