साफ फाइनल खेल्नुअघि यस्तो भन्छन् प्रशिक्षक थापा

काठमाडौं।

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनल म्याच भोलि सोमबार हुँदैछ। फाइनलमा नेपाल र बंगलादेश खेल्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा नेपालले बंगलादेशको सामना गर्ने भएको हो। नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।

फाइनल म्याच खेल्नुअघि नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले प्रतिक्रिया दिएका छन्। उनले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन्। फाइनलअघि आइतबार प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक थापाले उपाधि ट्रफी घर बाहिर जान नदिने मुख्य लक्ष्य रहेको बताएका हुन् ।

‘यो साफको लागि भावनात्मक र शारीरिक रुपमा धेरै मेहेनत गरेका छौँ। हाम्रो लागि साफको स्टार जर्सी लगाउने सपना छ,’ प्रशिक्षक थापाले भने, ‘त्यसको लागि जे पनि गर्नेछौँ। चाहे बिरामी खेलाडी रिकभरी गरेर हुन्छ की केही गरेर हुन्छ। हाम्रो लक्ष्य नै ट्रफी बाहिर जान नदिने हो।’

मुख्य प्रशिक्षक थापाले उपाधि घरमै राख्ने अवसरलाई खेर नफाल्ने बताए। ‘साफको फाइनलमा हुन पाउनु हाम्रो लागि सम्मान हो। हामी यो मौका गुमाउने छैनौं। हाम्रो समर्थकलाई खुशी हुने अवसर छ। हामी आयोजक राष्ट्र हौं। हामी च्याम्पियन बन्न चाहन्छौं,’ थापाले भने।

नेपाल र बंगलादेशबीच पहिलो पटक फाइनलमा खेल्न लागेको हो। यस्तै महिला साफको १२ वर्षे इतिहासमा पहिलो पटक नयाँ च्याम्पियन राष्ट्र थपिनेछ। किनकी ५ संस्करणको विजेता भारत सेमिफाइनलबाटै बाहिरिएको छ। नेपालले यसअघि ४ पटक फाइनल खेलिसकेको छ। तर, फाइनलमा भारतसँग स्तब्ध हुँदै आएको थियो। बंगलादेश भने दोस्रोपटक फाइनल खेल्न लागेको हो।

प्रशिक्षक थापाले बंगलादेशको टोली राम्रो भएकोसमेत बताएका छन्। ‘बंगलादेशको टिम इनर्जी र स्प्रिट राम्रो छ। हामी उनीहरुलाई आदर गर्छौं। पहिलेकोभन्दा बंगलादेश नयाँ र बलियो छ। मौसमले साथ दियो भने राम्रो खेल देखियोस् भन्ने कामना गर्छु,’ थापाले थपे, ‘हामीसँग अनुभव छ। हाम्रो बलियो पक्ष टिम वर्क हो।’

थापाले फरवार्ड सावित्रा भण्डारी र मन्जली कुमारी योन्जन रिकभरीको प्रोसेसमै रहेको बताए। दुबै जनाले डेंगुको कारण अघिल्ला दुई खेल गुमाएका थिए। नेपाली टोलीका कप्तान एन्जिला सुब्बा तुम्बापोले आफूहरू उपाधिका लागि शारीरिक र मानसिक रुपमा बलियो रहेको बताइन्।

‘हामी फाइनल खेल्न गइरहेका छौं। यो पटक मानसिक र शारीरिक रूपमा हामी बलियो छौं। बंगलादेश पहिलेकोभन्दा आज राम्रो छ। भारतभन्दा राम्रो छ। तर, हामी बलियो छौँ,’ कप्तान एन्जिलाले भनिन्, ‘भोलि जित्ने छौँ भन्नेमा विश्वस्त छौँ।’ कप्तान एन्जिलाले बोलेरभन्दा पनि गरेर देखाउने बताइन्। ‘भारतलाई पहिलोपटक जितेर इतिहास बनायौं। हाम्रो टिमको प्रयासले हो,’ उनले थपिन्, ‘बोलेरभन्दा गरेर देखाउन बाँकी छ।’

Leave A Reply

Your email address will not be published.