काठमाडौं।
नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनल म्याच भोलि सोमबार हुँदैछ। फाइनलमा नेपाल र बंगलादेश खेल्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा नेपालले बंगलादेशको सामना गर्ने भएको हो। नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।
आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । घरेलु मैदानमै आयोजना भएको साफ च्याम्पियनसिपको ट्रफी घरमा राख्दै पहिलो पटक च्याम्पियन बनेर नेपाली दर्शक र समर्थकलाई खुशी दिने नेपालको चाहना छ । यस्तै बंगलादेश पनि फाइनल खेल्ने तयार छ र पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ ।
दोस्रो पटक फाइनल पुगेको बंगलादेश नेपालविरुद्ध खेल्नका लागि तयार छ। यस संस्करणमा बंगलादेशले टेक्निकल्ली उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारतलाई सेमिफाइनलमा नेपालले पराजित गर्नुअघि नै बंगलादेशले समूह चरणमा पराजित गर्दै भारतको साफमा २५ खेलको अपराजित यात्रालाई ब्रेक लगाइदिएको थियो ।
भारतलाई हराएपछि बंगलादेशको पनि मनोबल उच्च रहेको छ । सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले पराजित गर्दै दोस्रो पटक फाइनल पुगेको हो । बंगलादेशले फाइनल पुग्दासम्म २० गोल गरेको छ र कुनै गोल खाएको छ ।
बंगलादेशका प्रशिक्षक गोलोन रब्बानी छोटोनले फाइनल खेल्नका लागि आफ्नो टिम तयार रहेको बताए । ‘हाम्रो खेलाडीहरु फाइनल खेल्नका लागि तयार छन् । मानसिक र शारीरिक रुपमै हामी तयार छौं, प्रि म्याच कन्फ्रेन्समा छोटोनले भने, ‘हामीले फाइनलका लागि योजना बनाएका छौं र त्यही अनुसार नै खेल्नेछौं ।’
प्रशिक्षक छोटोनले फाइनलअघि खेलेको चार खेलमा गरेको प्रदर्शनलाई रिभ्यु गर्दा राम्रो खेलेको र फाइनलमा पनि त्यही अनुसार खेल्ने बताए । ‘हामीले अहिलेसम्म खेलेको खेल हेर्दा खेलाडीले राम्रो खेलेका छौं । फाइनल खेल प्रतिस्पर्धात्मक हुनेछ, किनकि नेपाल बलियो टिम छ,’ छोटोनले फाइनलबारे भने, ‘फाइनल प्रशिस्पर्धात्मक, कठिन र रमाइलो हुनेछ ।’
फाइनलमा नेपाली टिमलाई घरेलु दर्शकको समर्थन हुनेबारे प्रशिक्षक छोटोन जानकार नै छन् । त्यसैले घरेलु टिमसँग खेल्दा कठिन हुने उनको विश्लेषण छ । ‘होस्ट टिमसँग खेल्दा सधैं कठिन हुन्छ तर हामी फाइनलका लागि कन्फिडेन्ट छौं ।’ नेपालमा फुटबललाई माया गर्ने धेरै रहेकोले फाइनलमा धेरै दर्शक आउने छोटोनको विश्वास छ । तर आफ्नो टिमले यसअघि पनि नेपालसँग उमेर समूहमा खेलिसकेको र त्यही अनुभव प्रयोग गर्ने बताए ।
‘नेपालमा फुटबल लभर छन् । हामीले सेमिफाइनलमा पनि हेर्यौं । भोलि १५ हजार दर्शक हुन सक्छन्,’ छोटोनले भने, ‘हाम्रो खेलाडीलाई नेपालमा खेलेको अनुभव छ । २०१५ मा नेपालमा एएफसी यू-१४ गर्ल्स रिजनल च्याम्पियनसिप खेलेका थियौँ । त्यसपछि पनि साफ यू-१८ र एएफसी यू-१९ छनोटमा खेलिसकेका छौं । यो सबै अनुभवले हामीलाई सहयोग गर्नेछ ।’
बंगलादेशकी कप्तान सबिना खातुनले फाइनलका लागि तयार भएको बताइन्। ‘हामी तयार छौँ। हामीसँग राम्रो अनुभव छ। फाइनलमा दबाब लिनको लागि खेलाडी तयार छन्,’ उनले भनिन्।