साम्बाले फाइनल खेल्ने/नखेल्नेबारे यस्तो भन्छन् प्रशिक्षक

काठमाडौं।

छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ । अहिलेसम्म भएको पाँच वटै संस्करणको उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल र बंगलादेश सामु नयाँ इतिहास बनाउने अवसर छ । त्यसका लागि दुवै टोली तयार भइसकेका छन् ।

यसअघि नेपालले चार पटक फाइनल खेल्दा चारै पटक भारतसँग पराजित भएको थियो । यस्तै एक पटक फाइनल पुगेको बंगलादेश पनि भारतसँग नै पराजित भएको थियो । दुवै टोलीले फाइनल पुग्नुअघि यस पटक भारतलाई नै पराजित गरिसकेका छन् । आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

घरेलु मैदानमै आयोजना भएको साफ च्याम्पियनसिपको ट्रफी घरमा राख्दै पहिलो पटक च्याम्पियन बनेर नेपाली दर्शक र समर्थकलाई खुशी दिने नेपालको चाहना छ । यस्तै बंगलादेश पनि फाइनल खेल्ने तयार छ र पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ । नेपालमा लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना भएको हो ।

सन् २०१९ विराटनगरमै भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । यस पटक नेपालको फाइनल प्रतिद्वन्दी भने नयाँ छ । त्यसैले नेपालको लागि यस पटक फाइनल विगतको भन्दा फरक हुनेछ । नेपाली टिमका प्रशिक्षक थापा र नेपाली टिम पनि नयाँ च्याम्पियन बन्ने अवसरलाई गुमाउन चाहँदैनन् । ‘यस पटक नयाँ च्याम्पियन बन्दैछ । यो सबैलाई थाहा छ र हामी त्यो अवसर गुमाउन चाँहदैनौँ, प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक थापाले भने, ‘फ्यानलाई ९० मिनेटपछि दु:खी बनाउन चाहन्नौं । साफको ट्रफी यही आइपुगेको छ र हामी यो ट्रफी बाहिर जान दिँदैनौँ । यो ट्रफीलाई अहिले जितेर दुई वर्षसम्म च्याम्पियन भएर यही राख्न चाहन्छौं ।’

९ हप्ताअघि साफका लागि तयारी सुरु गर्दा नै उपाधिमाथि अर्जुन दृष्टी राखेर तयार तयारी गरेको र ट्रफी नै एक मात्र लक्ष्य भएको थापाले बताए। ‘सुरुदेखि नै हाम्रो अर्जुनदृष्टी उपाधि माथि हो र अहिले पनि ट्रफी नै मुख्य टार्गेट हो ।’ नेपालले पुरुष र महिला फुटबलमा अहिलेसम्म साफ जित्न सकेको छैन । प्रशिक्षक थापा दुवैमा संलग्न छन् ।

पुरुष साफमा उनी खेलाडीको रुपमा थिए भने महिला साफमा प्रशिक्षकको रुपमा छन् त्यो पनि दोस्रो पटक । सन् २०१६ मा भारतमा भएको चौथो संस्करणको साफमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदा पनि थापा नै प्रशिक्षक थिए । यस पटक भारतलाई सेमिफाइनलमा हराएर थापा र नेपाली टिमले त्यसको मिठो बदला लिइसकेको छ ।

अब नेपाल उपाधि जित्नबाट एक कदम मात्र टाढा छ । ‘सेमिफाइनलमा भारत विरुद्धको प्रदर्शनबाट खुशी छौं र फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं । हामी हाम्रो रणनीति, मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौं । र, हाम्रो टिममा अहिले यो सबै छ । टिमप्रति म कन्फिडेन्ट छु र खुशी छु,’ थापाले आत्मविश्वाससहित भने । पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेर घरेलु समर्थकलाई खुशी दिने नेपाली टिमको लक्ष्य छ ।

यस्तै पहिलो पटक यसै च्याम्पियनसिपबाट नेपालको कप्तानी सम्हालेकी एञ्जिला तुम्बापो सुब्बाले पनि फाइनलका लागि तयार रहेको बताइन् । ‘पहिलो पटक भारतलाई पराजित गरेर फाइनल पुग्दा खुशी लागेको छ । टिम वर्कले गर्दा नै यहाँसम्म छौं। भोलि पनि त्यही अनुसार खेल्नेछौं । बोलेर भन्दा पनि मैदानमै गरेर देखाउन बाँकी छ ।’ उनले मानसिक र शारीरिक रुपमै टिम तयार रहेको बताइन् ।

‘शारीरिक र मानसिक रुपमा हामी बलियो अवस्था छौं । भोलि जित्नकै लागि खेल्ने हो, एञ्जिलाले भनिन् ‘बंगलादेशलाई पछिल्लो पटक पनि हराएको हो । यसपटक उनीहरु बलिया छन् । हामी यस पटक पनि जित्नकै लागि खेल्छौं ।’ नेपालले पछिल्लो पटक २०१९ मा भएको साफमा बंगलादेशलाई ३-० ले पराजित गरेको थियो ।

गतवर्ष काठमाडौंमै भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई एक खेलमा हराएको थियो भने अर्को खेल बराबरी गरेको थियो । साफमा अहिलेसम्म तीन भेटमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । बंगलादेश विरुद्ध सिनियर टिममा नेपाल अपराजित छ र त्यसलाई निरन्तरता दिन चाहन्छ । तर प्रशिक्षक थापा भने इतिहास हेर्ने भन्दा पनि नयाँ इतिहास बनाउनेमा विश्वास गर्छन् । ‘यसअघि बंगलादेशलाई हराउँदा म थिइन । हामी इतिहासलाई विश्वास गर्दैनौँ । र हामी इतिहास बनाउनेछौं’, थापाले भने ।

थापाले बंगलादेश पनि राम्रो टिम रहेको भन्दै त्यो भन्दा नेपाल राम्रो भनेर देखाउने बताए । ‘यो पटक बंगलादेशको टिम पनि राम्रो छ । उनीहरुको टिम बेस्ट छ । राम्रो खेलेरै उनीहरु फाइनलमा पुगेका हुन् । हामी ‍बंगलादेश भन्दा राम्रो छौं भनेर प्रमाणित गर्न चाहन्छौं र ट्रफीमा हाम्रो नाम लेखाउन चाहन्छौं ।’ घरेलु दर्शकको अगाडि खेल्दा प्रेसर भन्दा बढी इमोसन हुने थापाले बताए ।

डेंगुका कारण यसअघि नखेलेका दुई खेलाडी (सावित्रा र मन्जली) को आज परिक्षण गरिने र रिपोर्ट आएपछि फाइनल खेल्ने नखेल्ने थाहा हुने उनले बताए । प्रशिक्षक थापाले कम गल्ती गर्ने टिमले नै जित्ने बताए यस्तै कप्तान एञ्जिलाले पनि फाइनलमा गल्ती नगर्ने बताइन् । ‘फाइनलमा गल्ती गर्नुभएन । गोल खानुभएन । गल्ती गरेनौँ भने जित्छौँ ।’

Leave A Reply

Your email address will not be published.