काठमाडौं।
छैटौं साफ महिला च्याम्पियनसिपको फाइनल सोमबार हुँदैछ। फाइनलमा घरेलु टोली नेपालले बंगलादेशविरुद्ध खेल्दैछ। यी दुई देशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेदेखि सुरु हुनेछ। फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ।
च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ। अहिलेसम्म भएको पाँच वटै संस्करणको उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल र बंगलादेश सामु नयाँ इतिहास बनाउने अवसर छ। त्यसका लागि दुवै टोली तयार भइसकेका छन्।
यसअघि नेपालले चार पटक फाइनल खेल्दा चारै पटक भारतसँग पराजित भएको थियो। यस्तै एकपटक फाइनल पुगेको बंगलादेश पनि भारतसँग नै पराजित भएको थियो। दुवै टोलीले फाइनल पुग्नुअघि यसपटक भारतलाई नै पराजित गरिसकेका छन्।
फाइनल नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडी संन्यास लिने तयारी गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार फाइनलपछि तीन खेलाडीले संन्यास लिने भएका हुन्। फाइनलपछि संन्यास लिने तयारीमा रहेका खेलाडीमा डिफेन्डर पुनम जर्घामगर, मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई रहेको स्रोतलाई उदृत गर्दै मेरोखेल डट्कमले लेखेको छ। यी तीनै खेलाडीलाई एन्फाले सोमबार हुने फाइनलपछि ब्लेजर पहिराएर सम्मान गर्ने र आउँदो एन्फा डेमा थप सम्मान गर्ने तयारी गरिरहेको छ।
रौतहटको महिला टोलिबाट फुटबल खेल्न शुरु गरेकी पुनमले सन् २०१४ यता लगातार रुपमा राष्ट्रिय टोलिको सदस्यको रुपमा रहँदै आएकी छन्। पुनमले घरेलु फुटबलमा त्रिभुवन आर्मीबाट खेल्दै आएकी छिन्। आर्मीको जागिरेसमेत रहेकी पुनम संन्यासपछि शान्ति सेनाका लागि विदेश जाने तयारीमा समेत रहेकी बताइएको छ।
यस्तै उदयपुरकी दीपाले पनि सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्। दीपाले पनि आर्मीबाट नै घरेलु फुटबल खेल्दै आएकी छिन्। इन्दिराले सन् २०१८ मा डेब्यू गरेकी थिइन्। उनले ओलम्पिक छनोटबाट नेपाली राष्ट्रिय टोलीको सुरुवाती–११ मा पर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। उनी त्रिभुवन आर्मी क्लबमा पनि आवद्ध छिन्।