साफ फाइनल खेल्नुअघि यस्तो भन्छिन् रश्मी

काठमाडौं ।

साफ महिला च्याम्पियनसिपमा कीर्तिमानी गोलकर्ता स्ट्राइकर सावित्रा भण्डारी अस्वस्थताका कारण श्रीलंकाविरुद्ध खेल्न नसक्ने भइन् । प्रशिक्षक कुमार थापाले रश्मिकुमारी घिसिङलाई अवसर दिए । उद्घाटन खेलमा भुटानविरुद्ध पहिलो रोजाइमा पर्न नसकेकी रश्मिले सावित्राको अभाव महसुस हुन दिइनन्, डेब्यू गोल गरिन् । नेपाल समूह विजेता बनेर सेमिफाइनलमा पुग्यो ।

गोलमेसिन सावित्रा पूर्ण फिट भइसकेकी थिइनन्, सेमिफाइनलमा भारतसँग खेल्नुपर्ने भयो । भारत मात्र यस्तो प्रतिद्वन्द्वी हो, जसले हरेक पटक नेपाललाई रोकेको थियो । पहिलो संस्करणदेखि नै फाइनलमा नेपाललाई रोकेको भारतले सन् २०१६ मा त सेमिफाइनलबाटै घर पठाइदिएको थियो । एकातिर १२ वर्षदेखि भारतसँग हार्दै आएको नियतिलाई क्रमभंग गर्ने लक्ष्य, अर्कातिर सावित्राको अभावले नेपाली टोली दबावमा थियो । प्रशिक्षक कुमारले फेरि रश्मिलाई सेन्टर फरवार्डकै भूमिका दिए ।

रश्मिले भारतविरुद्ध त्यस्तै खेलिन्, जस्तो अपेक्षा टिम र रंगशालामा उपस्थित ७ हजार बढी दर्शक तथा फुटबलमा चासो राख्ने नेपालीले गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा १९ वर्षीया रश्मिले स्तरीय गोल गरिन् । अर्की उदीयमान खेलाडी प्रीति राईसँगको राम्रो तालमेलमा रश्मिले गरेको त्यही गोलको मद्दतमा नेपालले पहिलो पटक भारतलाई हरायो र फाइनलमा स्थान बनायो । अब भोलि (सोमबार) बंगलादेशलाई हराउन सके नेपाल पहिलोपल्ट दक्षिण एशियाली च्याम्पियन हुनेछ ।

शुक्रबार साँझ नेपालले इतिहास रच्यो । साफ इतिहासमा पहिलोपल्ट र समग्रमा दोस्रोपल्ट भारतलाई हराउनु नेपालका लागि विजेता बनेसरहको खुसी हो । आफ्नो गोलबाट इतिहास बनेको क्षण रश्मिका लागि करिअरकै सबैभन्दा रोमाञ्चक अनुभूति हो । आफ्नो अनुभूति साट्दै उनले भनिन्, ‘प्रशिक्षकले गर्नुभएको विश्वासका कारण मौका पाएँ र त्यही अवसरमा इतिहास रच्न सकें ।’

भारतसँगको खेलअघि कप्तान एञ्जिला तुम्बापो सुब्बा र प्रशिक्षक थापाले हौसला दिएका थिए । उमेर समूहमा भारतविरुद्ध गोल गरेकाले पनि होला, कप्तान एञ्जिलाले राम्रो टिमसँग खेल्दा नै हिरो बन्ने कि जिरो हुने भन्ने अवसर हुने भन्दै भनेकी थिइन्, मलाई तिमीमाथि विश्वास छ । उनी हिरो भइन् । भारतसँगको गोलपछि खुसी साट्दै उनी भन्छिन्, ‘मलाई हत्तपत्त सेलिब्रेट गर्न आउँदैन । तर यो गोल गर्दा आफैंलाई सम्हाल्न सकिनँ । सबै दिदीहरू आएर मलाई अँगालो हाल्नुभयो । मेरो आँखाबाट आँसु झरेको थियो ।’

नचिन्ने मान्छेहरूले पनि आएर बधाई र शुभकामना दिए । रंगशाला, होटलदेखि सामाजिक सञ्जालबाट पनि धेरैले शुभकामना दिए । भारतविरुद्ध गोल गरेर नेपाललाई जिताउने केटी भन्ने पहिचान उनको फुटबल करिअरमा थपियो । एउटै गोलले फरक पहिचान बनेकोमा रश्मि दंग छिन् । ‘सबैजनाले नाम अगाडि आएपछि मात्र चिन्ने रहेछन्,’ उनले भनिन्, ‘यसले मलाई आगामी करिअरका लागि ठूलो प्रेरणा दिनेछ । फाइनलमा अझै राम्रो खेल्नुपर्छ भन्ने हौसला मिलेको छ ।’

तर काठमाडौंमै भएर पनि शुक्रबार बाबालाई रंगशालामा देख्न नपाउँदा उनलाई नमज्जा लागेको छ । बुवाको फोन बिग्रिएका कारण कुराकानी हुन पाएको छैन । बन्द प्रशिक्षणमा रहेको ७ हप्ताको समयमा उनले एक पटक मात्र बुवालाई भेटेकी छन् । ‘मैले देशका लागि इतिहास बनाउँदा बाबाले हेर्न पाउनु भएन’, रश्मिले भनिन् ।

रौतहटको चन्द्रपुर महिला फुटबलको उर्वर भूमि हो । राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, वर्तमान टिमकी अनिता केसीलगायत यहींका उत्पादन हुन् । रौतहटबाट राष्ट्रिय टिमसम्म पुगेका महिला फुटबलरको सूची लामै छ । त्यही रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ४ की स्थायी बासिन्दा हुन्, रश्मि । रश्मिका अनुसार आफू खेलाडी बन्नुमा उनको भन्दा बढी उनको बाबाको चाहनाको प्रतिफल हो । ‘सुरुमा फुटबलप्रति मेरो चाहना कम थियो । बाबाले सधैं मैदानमा लिएर जाने र खेल्न प्रोत्साहित गरेपछि यसैमा लत बस्न थाल्यो’ रश्मि भन्छिन्, ‘मेरो बाबाले गर्दा नै म यहाँसम्म आइपुगेकी हुँ, फुटबल मेरो बाबाको सपना हो ।’

रश्मि फुटबलमा लागेको आठ वर्ष भयो । ११ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी उनले राष्ट्रिय महिला टिमको उमेर समूहका प्रतियोगिता खेलिसकेकी छन् । घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्न थालेपछि १७ वर्षको उमेरमा विभागीय टोली आर्मीले अनुबन्ध गर्‍यो । २०१८ मा यू–१८ खेलेकी उनले २०१९ मा उमेर समूहको खेल खेलेकी हुन् ।

भन्छिन्, ‘यस पटक हुने यू–२० सम्म खेल्न मेरो उमेरले दिन्छ ।’ अहिले भने उनको ध्यान भोलि सोमबार बंगलादेशसँग हुने फाइनल खेलमा छ । नेपालको लक्ष्य साफको उपाधि जित्ने हो । सबैजना मिहिनेत साथ लागेको भन्दै रश्मिले भनिन्, ‘हाम्रो लक्ष्य भनेको फाइनल जितेर नेपाललाई उपाधि दिलाउने हो ।’ –अनलाइनखबर

Leave A Reply

Your email address will not be published.