पहिलो हाफमै नेपाल पछाडि, यी ३ खेलाडीले पाए रातो कार्ड

काठमाडौं ।

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले अहिले अन्तिम खेलमा बंगलादेशसँग खेलिरहेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २-० ले पछाडी परेको छ।

खेलको पहिलो हाफमै नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएको छ । खेलको छैटौं मिनेटमा एमडी मोजिबोर जोनीले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाए । खेलको १० औं मिनेटमा एमडी पियास नोभाले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाएका छन्।

खेलको २६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो। खेलको ३५ औं मिनेटमा कप्तान आयुस घलानले सिधै रातो पाएपछि नेपाल ९ खेलाडीमा समेटियो । ३५ औं मिनेटमै अजिजुल हक एनान्टोले दोहोरो फेलो कार्डसहित रातो कार्ड पाएपछि बंगलादेश पनि १० खेलाडीमा समेटिएको छ ।

आज नेपाल पहिलो जितको खोजीमा रहेको छ । किनकि नेपालले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ । पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । बंगलादेश भने दोस्रो जितको खोजीमा रहेको छ ।

बंगलादेश ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बंगलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

Leave A Reply

Your email address will not be published.