बहराइनमा नेपालको हारै हार, खायो एक दर्जन बढी गोल

काठमाडौं ।

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो ।

बंगलादेशलाई देशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक एक गोल गरे । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएको थियो।

खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १० औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाए । खेलको २६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

खेलको ३५ औं मिनेटमा कप्तान आयुस घलानले रातो पाएपछि नेपाल ९ खेलाडीमा समेटियो । बंगलादेशका अजिजुल हक एनान्टोलाई ‘मिडल फिंगर’ साइन देखाएपछि घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएर मैदान पठाए ।

अजिजुलले पनि दोहोरो फेलो कार्डसहित रातो कार्ड पाएपछि बंगलादेश पनि १० खेलाडीमा समेटिएको थियो । उनले नेपालका कप्तान आयुसलाई जिस्काएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३-० को जित दिलाए ।

समूह चरणमा नेपालको यो चौंथो हार हो । यस हारसँगै समूह ‘बी’ मा रहेको नेपालले अंक विहीन रहदै समूहको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।

बंगलादेशको यो दोस्रो जित हो । बंगलादेश ४ खेलमा ७ अंक जोड्यो । बंगलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

Leave A Reply

Your email address will not be published.