काठमाडौं।
छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् ।
बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु मैदान र दर्शकको राम्रो साथ छ । प्रतियोगितामा फाइनल यात्रा तय गर्दा दुवै टोलीको दुई समानता छ । दुवैले यसअघि ५ पटक च्याम्पियन बनेको भारतलाई हराइसकेका छन् । खनी दुवैले अहिलेसम्म गोल खाएका छैनन् । भारतको दबदबालाई तोडिसकेका दुवै टोली अब फाइनल जितेर ट्रफी उचाल्ने योजनामा छ ।
नेपालले सेमिफाइनलमा भारतलाई १-० ले हराएर फाइनलमा इतिहास बनाएको हो । साफ इतिहासमै नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । नेपाल पाँचौ पटक फाइनल पुगेको हो । यस्तै बंगलादेशले पनि समूह चरणमा भारतलाई ३-० ले पराजित गरेको थियो । बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिप फाइनल पुग्ने क्रममा भुटानलाई सेमिफाइनलमा ८-० ले हरायो ।
बंगलादेशले फाइनलसम्म आइपुग्दा २० गोल गर्दा नेपालले ११ गोल गरेको छ । नेपालले समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ३-० ले, पाकिस्तानलाई ६-० र भारतलाई ३-० ले पराजित गरेको थियो । पहिलो पटक च्याम्पियन बन्ने अवसरलाई दुवै टोलीले राम्रोसँग बुझेका छन् । नेपालको महिला फुटबल टिमले पछिल्लो १२ वर्षमा ९ प्रतियोगिताको फाइनल खेल्दा उपाधि जित्न सकेको छैन । यस पटक नेपाल त्यो उपविजेताको ट्याग मेटाउन चाहन्छ । साफ च्याम्पियनसिपमा चार र सागमा तीन गरी ७ पटक फाइनलमा भारतसँग नै पराजित भएको नेपाल हिरो वुमन्स गोल्डकपमा म्यानमार र नादेज्दा कपमा उज्वेकिस्तानसँग फाइनलमा पराजित भएको थियो ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म ८ खेल भएको छ । जसमध्ये ३ खेल साफ च्याम्पियनमै थियो । यस्तै २ खेल दक्षिण एसियाली खेलकुद (साग) र दुई मैत्रीपूर्ण खेल थियो । १ खेल भने ओलम्पिक छनोटमा थियो । ८ वटै खेलमा नेपाल बंगलादेशसँग अपराजित छ । विगत हेर्दा नेपालको पक्षमा छ । तर पछिल्लो समय बंगलादेशले महिला फुटबलमा ग्रासटरुट उमेर समूहदेखि नै महत्व दिँदै आएको छ ।
नेपाल र बंगलादेशबीचबीच एक वर्षअघि दशरथ रंगशालमा पछिल्लो पटक दुई मैत्रीपूर्ण खेल भएको थियो । जसमा एक खेल नेपालले २-१ ले जित्दा एक खेल बराबरीमा सकिएको थियो । त्यसअघि नेपालले साफ च्याम्पियनसिपको ३ र सागको २ खेलमा बंगलादेशलाई पराजित गरेको छ।
नेपालले फाइनल खेल्नुअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् महिला फुटबलले नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका छन्।
यसका साथै उनले जितका लागि सम्पूर्ण टिमलाई शुभकामना दिएका छन्। ‘हामी ऐतिहासिक जितभन्दा एक कदम मात्र पछाडि छौं, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ,’ टिमसँगको तस्वीर शेयर गर्दैै बालेनले लेखेका छन्, ‘जितको लागि सम्पूर्ण टिमलाई शुभकामना, जय नेपाल।’