काठमाडौं।
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज सोमबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । महिला साफको १२ वर्षे इतिहासमा नेपालले बंगलादेशसँग पहिलो पटक फाइनलमा भिड्न लागेको हो ।
यसअघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो। महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ । तर, यस पटक भारत सेमिफाइनलबाटै घर फर्किएको छ ।
दुई देशबीचको खेलको सबैभन्दा ठूलो विशेषता हो, नेपाल बंगलादेशविरुद्ध अहिलेसम्म अपराजित रहेको छ । अर्थात नेपालले अहिलेसम्म बंगलादेशविरुद्ध खेलेका ८ खेलमध्ये कुनैमा पनि हार सामना गर्नु परेको छैन्। एक प्रकारले भन्दा नेपाल बंगलादेशमाथि हाबी रहँदै आएको छ।
यी दुई देशबीच अहिलेसम्म भएका खेलको इतिहास
१. सन् २०१० जनवरी २९, ढाका
नेपालले पहिलो पल्ट बंगलादेशको सामना गरेको भनेको सन् २०१० को दक्षिण एसियाली खेलकुदमा हो । बंगलादेशले त्यस संस्करणको दक्षिण एसियाली खेलकुदको आयोजना गर्दा महिला फुटबललाई पनि समावेश गरेको थियो । दक्षिण एसियाली खेलकुदमा महिला फुटबलले प्रवेश पाएको यो नै पहिलो पल्ट हो । लिग चरणमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई १–० ले पराजित गर्न सफल रह्यो । खेलको निर्णायक गोल जमुना गुरुङले गरिन् ।
२. सन् २०१० डिसेम्बर २१, कक्स बजार
दुई देशबीचको पहिलो खेलको एक वर्ष बित्दा नबित्दै सन् २०१० मा फेरि उनीहरू आमना सामना भए र अवसर रह्यो, पहिलो संस्करणको वुमेम्स साफ च्याम्पियनसप । लिग चरणको यस खेलमा पनि नेपाल विजयी रह्यो र स्कोर बनेको थियो, ३–० । नेपालका लागि गोल गर्ने खेलाडी थिए, जमुना र अनु लामा । जमुनाले दुई गोल गरिन् । यसरी नेपाल र बंगलादेशबीच भएका सुरुआती दुवै खेल बंगलादेशी भूमिमै भए र दुवैमा नेपाल विजयी रह्यो ।
३. सन् २०१४ नोभेम्बर १९, इस्लामावाद
पाकिस्तानले सन् २०१४ मा तेस्रो वुमेन्स साफ च्याम्पियनसपिको आयोजना गरेको थियो र त्यसैक्रममा नेपालले तेस्रो पल्ट बंगलादेशको सामना गर्यो । यसपल्टको भेट भने लिग चरणमा थिएन्, सेमिफाइनलमा थियो ।
यसरी नेपालले पहिलो पल्ट नकआउट चरणमा बंगलादेशको सामना गर्यो । यसमा पनि नेपाल १–० को जित निकाल्न सफल रह्यो र टिमले फाइनल यात्रा तय गर्न सफल रह्यो । यस खेलको निर्णायक गोल सजना रानाको नाममा रह्यो ।
४. सन् २०१६ फेब्रवरी ५, सिलोङ
भारतले आयोजना गरेको सन् २०१६ को दक्षिण एसियाली खेलकुदको महिला फुटबल सिलोङमा भएको थियो । यसपल्ट नेपाल र भारतको भेट फेरि लिग चरणमै भएको थियो, एउटै समूहमा परेपछि । यसमा नेपाल फेरि एकपल्ट ३–० को प्रभावशाली जित निकाल्न सफल रह्यो ।
लिग चरणमा यो नेपालको पहिलो खेल थियो र यसबाटै नेपाल लय समात्न सफल रह्यो । यस खेलमा तीन खेलाडीले एक एक गोल गरे र ती थिए, दीपा अधिकारी, अनु लामा र निरु थापा ।
५. सन् २०१८ नोभेम्बर १३, याङ्गुन
नेपाल र बंगलादेशबीच दक्षिण एसियाली प्रतियोगिता छाडेर पहिलो भेट भएको सन् २०१८ मा हो, जति बेला म्यानमारले एसियाको वुमेन्स ओलम्पिक छनोटको समूह सी का खेल आयोजना गरेको थियो । नेपालको समूहमा आयोजक म्यानमारसँगै भारत र बंगलादेश थिए । लिग चरणको आ–आफ्नो अन्तिम खेलमा नेपाल र बंगलादेश भिडे र खेलको नतिजा रह्यो, १–१ को बराबरी ।
बंगलादेशले नेपाललाई बराबरीमा रोकेको यो नै पहिलो पल्ट हो । नेपालका लागि निरु थापाले गोल गरिन् भने बंगलादेशका लागि ऐतिहासिक गोल गर्ने खेलाडी रहिन्, अखि आतुन । उनले खेलको अन्तिम समयमा गोल गरेकी थिइन्, इन्ज्युरी समयको चौथो मिनेटमा । यो गोलपछि बंगलादेशी टिममा खुबै खुसीयाली छाएको थियो ।
६. २०१९ मार्च १६, विराटनगर
नेपालको पूर्वी सहर विराटनगरले सन् २०१९ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो र बंगलादेशसँग नेपालको भेट फेरि एक पल्ट समूह चरणमा भएको थियो । यसपल्ट भने नेपाल आरामदायी जित निकाल्न सफल रह्यो । नेपालका लागि सावित्रा भण्डारी र अन्जली कुमारी योञ्जनले एक एक गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो । यी देशबीच नेपाली भूमिमा भएको यो नै पहिलो खेल हो ।
७. २०२१ सेप्टेम्बर ९, काठमाडौं
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।पहिलो मैत्रीपूर्णमा नेपालले पाहुना टोलीलाई २-१ ले हराएको थियो । जसमा डेब्यु गरेकी प्रिती राई र सबिता रानाले गोल गरेकी थिइन् । बंगलादेशकी तहुरा खातुनले एक गोल फर्किएकी थिइन् । बंगलादेशविरुद्ध नेपालको यो छैटौं जित थियो । र, नेपालले अपराजित यात्रालाई निरन्तरता दिएको थियो ।
८.२०२१ सेप्टेम्बर १२
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो।पहिलो खेल जितेको तीन दिनपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले गोलरहित बराबरी खेलेको थियो ।
बंगलादेशविरुद्ध नेपालले खेलेको यो दोस्रो बराबरी हो । त्यस खेलयता नेपालले पहिलो पटक बंगलादेशसँग खेल्दैछ । त्यो पनि ऐतिहासिक र महत्वपूर्ण खेलमा । यस खेलको विजेता महिला साफको नयाँ च्याम्पियन बन्नेछ । –खेलपाटीबाट साभार