बंगलादेशसँग हारे लगत्तै थापाले गरे ठूलो घोषणा

काठमाडौं।

बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।

बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन । नेपालकी अनिता बस्नेतले एक गोल फर्काईन् ।

खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे । खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाईन् ।

कप्तान सबिना खातुनको चलाखीपूर्ण पासमा अनमार्क रहेकी सरकारले उत्कृष्ट गोल गरिन् । ७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याईन । अमिषा कार्कीको पासमा अनिताले उत्कृष्ट गोल गरिन् ।

तर, खेलको ७७ औं मिनेटमा श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाईन् । यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ ।

बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो । नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन्। साफ च्याम्पियनसिपमा फाइनल गुमाएपछि मुख्य प्रशिक्षक थापाले पदबाट राजीनामाको घोषणा गरेका हुन्।

‘आजैको दिनदेखि म यो टिम छोड्छु।’ कुमारले पत्रकार सम्मेलनमा भने, ‘मैले जुन लक्ष्य राखेको थिए। त्यो पूरा गर्न सकिन। अहिलेनै पद त्यागको घोषणा गर्छु। सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुँदैन। म अहिलेबाटै छाड्छु।’

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो

Leave A Reply

Your email address will not be published.