काठमाडौं।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । डिफेन्डर पुनम जर्गा मगर, मिडफिल्डर दीपा राई र मिडफिल्डर इन्दिरा राईले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलपछि तीनै खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन्। राखेप सदस्य सचिव टंक लाल घिसिङले तीनै जना खेलाडीलाई ब्लेजर लगाएर बिदाइ गरे।
रौतहटको महिला टोलिबाट फुटबल खेल्न शुरु गरेकी पुनमले सन् २०१४ यता लगातार रुपमा राष्ट्रिय टोलीको सदस्यको रुपमा रहँदै आएकी थिइन्। पुनमले घरेलु फुटबलमा त्रिभुवन आर्मीबाट खेल्दै आएकी छिन्। आर्मीको जागिरेसमेत रहेकी पुनम संन्यासपछि शान्ति सेनाका लागि विदेश जाने तयारीमा समेत रहेकी बताइएको छ।
यस्तै उदयपुरकी दीपाले पनि सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्। दीपाले पनि आर्मीबाट नै घरेलु फुटबल खेल्दै आएकी छिन्। इन्दिराले सन् २०१८ मा डेब्यू गरेकी थिइन्। उनले ओलम्पिक छनोटबाट नेपाली राष्ट्रिय टोलीको सुरुवाती–११ मा पर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। उनी पनि आर्मी क्लबमा पनि आवद्ध छिन्।
कुमारले त्यागे मुख्य प्रशिक्षकको पद
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन् । साफ च्याम्पियनसिपमा फाइनल गुमाएपछि मुख्य प्रशिक्षक थापाले पदबाट राजीनामाको घोषणा गरेका हुन् । ‘आजैको दिनदेखि म यो टिम छोड्छु ।’ कुमारले पत्रकार सम्मेलनमा भने, ‘मैले जुन लक्ष्य राखेको थिए । त्यो पुरा गर्न सकिन । अहिलेनै पद त्यागको घोषणा गर्छु । सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुदैन । म अहिलेबाटै छाड्छु ।’
उनले साफका लागि राम्रो तयारी भएपनि उपाधि जिताउन नसकेको उल्लेख गरे । ‘हाम्रो तयारी राम्रो थियो । मैले पाएको ७ हप्ता पर्याप्त थियो । मैले सम्पुर्ण कुरा दिए तर उपाधि दिन सकिन ।’ कुमारले भने । उनले घरेलु फुटबलको संरचनाप्रति निराशा ब्यक्त गर्दै महिला फुटबल विभागीय टिमले टिकेको तितो यथार्थ पोखे ।
‘हाम्रो घरेलु महिला फुटबलको संरचना विभागमा मात्र सिमित छ । एन्फासँग योजना होला, आगामी दिनमा नयाँ प्रतिभालाई खोज्ला । त्यो मेरो हातको कुरा हैन । एन्फाले महिला फुटबललाई प्राथमिकतामा राखेर योजना बनाउने विश्वास छ ।’ कुमारले भने ।
उनले प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा हार ब्यहोर्नु परेको बताए । ‘हामीले अवसरलाई बदल्न सकेनौं । साना साना गल्ती गर्यौ । गोल खादा मानसिक रुपमा निराश बन्यौ ।’ उनले भने, ‘सावित्रा र रश्मीले हानेको गोल हुन सकेन । नत्र नतिजा फरक हुन्थ्यो ।’
उनले बंगलादेशले भारतसँग भन्दा कमजोर खेल प्रर्दशन गरेको उल्लेख गर्दै फुटबलमा कहिले काही यस्तो नतिजा आउने बताए । प्रशिक्षक कुमारले भारतभन्दा बंगलादेशको टिम राम्रो देखिएको बताए । उनले नेपालको स्तर उही रहेको उल्लेख गर्दै आगामी दिनमा महिला फुटबलमा थप चुनौती थपिएको बताए ।
उनले नेपालको स्तरभन्दा माथि जान लागेको बंगलादेश सहितको अन्य देशको प्रगतिलाई स्विकार गर्नुपर्ने उल्लेख गरे । नेपालकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले खेलाडीले म्याच एक्सपोजर नपाएको गुनासो गरिन् । उनले वर्षमा एउटा पनि प्रतियोगिता राम्ररी नहुने गरेको तितो यथार्थ प्रस्तुत गर्दै अनुभवको कमी रहेको गुनासो गरिन् ।