आयुष घलानलाई हुन सक्छ यति ठूलो कारबाही

काठमाडौं।

बहराइनमा आयोजना भएको एएफसी यू–२० एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएको छ। नेपाली टोली सोमबार राति स्वदेश फर्किएको हो। नेपाली टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए। प्रतियोगितामा नेपाल जितविहीन बनेको थियो। आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो।

बंगलादेशसँगको खेलमा रातो कार्डको वर्षा नै भयो। म्याचमा तीन खेलाडी रातो कार्ड पाएका थिए। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएको थियो। खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको १० औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाए।

खेलको २६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो। बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका थिए।

खेलको ३५औं मिनेटमा कप्तान आयुष घलानले रातो पाएपछि नेपाल ९ खेलाडीमा समेटिएको थियो। बंगलादेशका अजिजुल हक एनान्टोलाई ‘मिडल फिंगर’ साइन देखाएपछि घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएर मैदान पठाएका थिए। ।

अजिजुलले पनि दोहोरो फेलो कार्डसहित रातो कार्ड पाएपछि बंगलादेश पनि १० खेलाडीमा समेटिएको थियो। उनले नेपालका कप्तान आयुसलाई जिस्काएका थिए। त्यसपछि खेलको ५२ औं मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाएका थिए।

नेपाल यू–२० का कप्तान घलानलाई मिडफिङ देखाएको भन्दै जरिवाना हुने सम्भावना छ। म्याच कमिश्नरले अब एएफसी अनुशासन समितिलाई प्रतिवेदन पठाउनेछ। एएफसीले घलानलाई कारबाही गर्ने सम्भावना छ।

नेपाली खेलाडीले माझी औँला देखाएको यो पहिलो घटना होइन। नेपालका पूर्वअन्तर्राष्ट्रिय दीपक लामालाई रेफ्रीलाई औँला देखाएको भन्दै एक वर्षको प्रतिबन्ध लागेको थियो। अनुशासन तोडेको भन्दै युवा स्टार आयुषलाई पनि ठूलो कारबाही हुन सक्छ।

समूह ‘बी’ मा नेपालले अंकविहीन रहँदै समूहको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको थियो। पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो। नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो।

Leave A Reply

Your email address will not be published.