भारत र अष्ट्रेलियाको म्याच आज, यस्तो छ दुवै टिमको सम्भावित–११

काठमाडौं ।

भारत र अष्ट्रेलियाबीचको टी–२० सिरिजको पहिलो खेल आज हुँदैछ। यी दुई देशबीचको खेल राति ७ः४५ देखि मोहालीस्थित बिन्द्रा स्टेडियममा सुरु हुनेछ। घरेलु टोली भारत पहिलो खेलमा विजयी हुँदै सिरिजमा उत्कृष्ट सुुरुवात गर्न चाहन्छ। पाहुना टोली अष्ट्रेलिया पनि भारतलाई उसकै घरमा हराउने लक्ष्यमा हुनेछ।

टी–२० विश्वकपको तयारी स्वरूप दुवै टिमले यो सिरिज खेलिरहेका हुन्। भारत र अष्ट्रेलिया बलिया टिम हुन्। दुवै आउँदो विश्वकपको उपाधि दावेदार टिमसमेत हुन्। भारत आईसीसीको टी–२० वरियताको शीर्ष स्थानमा रहेको टिम हो। अष्ट्रेलिया वरियताको छैटौं स्थानमा रहेको छ। दुवै टिममा स्टार खेलाडीहरू छन्।

भारतको टिममा कप्तान रोहित शर्मा कप्तान, केएल राहुल, विराट कोहली र सूर्यकुमार यादवजस्ता स्टार ब्याटर छन्। अष्ट्रेलियाको टोलीमा पनि कप्तान आरोन फिन्च, जोस इन्ग्लिस, स्टिभन स्मिथ र ग्लेन म्याक्सवेलजस्ता चर्चित ब्याटर छन्। भारतविरुद्धका पछिल्लो पाँच टी–२० खेलमा अष्ट्रेलिया बलियो देखिन्छ। अष्ट्रेलियाले पाँचमध्ये तीन म्याच जितेको छ।

स्टार अलराउण्डर टिम डेविडले अष्ट्रेलियाको टोलीमा डेब्यू गर्ने सम्भावना छ। भारतविरुद्ध प्लेइङ–११ म पर्दै उनले अष्ट्रेलियाको टिममा डेब्यू गर्ने सम्भावना रहेको हो। डेविडले अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि नै सिंगापुरबाट डेब्यू गरिसकेका छन्। विश्वका चर्चित टी–२० लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी अष्ट्रेलियामा परेका हुन्। घरेलु मैदानमा हुने टी–२० विश्वकप खेल्ने अष्टे«लियाको टिममा समेत उनले मौका पाएका छन्।

स्टिभ स्मिथले भारतविरुद्धको टी–२० सिरिजमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने भएका छन्। चोटको क्रम मिचेल मार्शको अनुपस्थितिमा स्मिथले तेस्रो नम्बरमा ब्याटिङ गर्ने भएका हुन्।

भारत भ्रमणमा रहेको अष्ट्रेलियाले घरेलु टोलीसँग ३ खेलको टी–२० सिरिज खेल्न लागेको हो। स्मिथले टी–२० अन्तर्राष्ट्रियमा १२ खेलमा मात्र तेस्रो नम्बरमा ब्याटिङ गरेका छन्। स्मिथले सर्वाधिक धेरै चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन्। भारतविरुद्ध मार्शसँगै डेभिड वार्नर र मार्कुस स्टोनिस अष्ट्रेलियाको टोलीमा छैनन्।

भारतको सम्भावित प्लेइङ–११ :

रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त/दिनेश कार्तिक (विकेटकिपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल, युजवेन्द्र चहल र जसप्रित बुमराह।

अष्ट्रेलियाको सम्भावित प्लेइङ–११ :

आरोन फिन्च (कप्तान), जोस इन्ग्लिस, स्टिभन स्मिथ, ग्लेन म्याक्सवेल, म्याथ्यू वेड (विकेटकिपर), टिम डेविड, क्यामरन ग्रीन, एडम जाम्पा, प्याट कमिन्स, जोस हेजलउड र सेन एबोट।

Leave A Reply

Your email address will not be published.