काठमाडौं।
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनीलाई पराजित गरेको छ। पपुवा न्युगिनीको अमिनी पार्कमा मंगलबार भएको खेलमा नामिबिया १ सय ६७ रनले विजयी भएको हो।
नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४२.४ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र बनाउन सक्यो। उसका लागि नर्मन भानुवाले ३८ तथा चार्ल्स अमिनीले २७ रन बनाए। हिरी हिरीले १३ तथा चाड सोपारले १२ रन बनाए। दामिन रभिले ११ तथा सेसे बाउले ६ रन बनाए।
नामिबियाका लागि ब्रिनड स्कोलजले ३ तथा जान निकोल र जान फ्रायलिंक समान २–२ विकेट लिए। कप्तान गेहार्ड इरास्मस तथा रुबेन ट्रपिलम्यानले समान १–१ विकेट हात पारे। त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो।
उसका लागि मिचेल भान लिगेनले १ सय १९ रनको अविजित शतकीय ईनिङ खेले। कप्तान गेहार्ड इरास्मसले ६८ रनको अर्धशतकीय ईनिङ खेले। लोहानड्री लौरेन्सले २८ तथा स्टेफन ब्राडले २१ रन बनाए। डिभान ला ककले २० तथा जान निकलो अविजित ७ रनमा रहे।
पपुवा न्युगिनीका लागि नर्मन भानुवाले ३ तथा सिमो कामियाले १ विकेट लिए। जितसँगै नामिबियाको २१ खेलमा २४ अंक भएको छ। सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ। पपुवा न्युगिनी भने २३ खेलमा ५ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ।
आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रूपमा रहेको लिग–२ मा नेपाल छैटौं स्थानमा रहेको छ। पीएजीमाथि नामिबियाले फराकिलो जित निकाल्नु नेपालका लागि ठूलो घाटा हो। किनकि नेपालभन्दा नामिबिया अंक तालिकामा माथि रहेको छ। नेपालले अहिलेसम्म २० म्याच खेलेको छ।
जसमा नेपालले ८ मा जित र ११ खेलमा हार बेहोरेको छ। नेपालले एक खेल बराबरी खेलेको छ। लिग–२ मा एक टिमले कूल ३६ म्याच खेल्नेछन्। ओमानले सबै खेल खेलिसकेको छ। ओमान ४४ अंकका साथ शीर्ष स्थानमा रहेको छ। स्कटल्याण्ड दोस्रो स्थानमा रहँदा यूएई चौथो नम्बरमा छ।
अंक तालिका