भारतले दियो विशाल लक्ष्य, हार्दिकले खेले करियरकै उत्कृष्ट पारी

काठमाडौं।

टी–२० सिरिजको पहिलो म्याचमा भारतले अष्ट्रेलियालाई २ सय ९ रनको लक्ष्य दिएको छ। मोहालीस्थित बिन्द्रा स्टेडियममा टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो।

उसका लागि हार्दिक पाण्ड्या र केएल राहुलले अर्धशतकीय पारी खेले। हार्दिकले ३० बलमा ७ चौका र ५ छक्काको मद्दतमा नटआउट ७० रनको योगदान दिए। उनको यो टी–२० आई करियरको उत्कृष्ट ब्याटिङ हो। यसअघि टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ५१ रन थियो।

राहुलले ३५ बलमा ४ चौका र ३ छक्कासहित ५४ रन बनाए। यस्तै, सूर्यकुमार यादवले ४६ र कप्तान रोहित शर्माले ११ रन बनाउँदा विराट कोहली २, दिनेश कार्तिक र अक्षर पटेल ६–६ रनमा आउट भए। हर्षल पटेल ७ रनमा अविजित रहे।

अष्ट्रेलियका लागि नाथन एलिसले ३, जोस हेजलवुडले २ र क्यामरन ग्रीनले १ विकेट लिए। पाहुना टोली अष्ट्रेलिया पनि भारतलाई उसकै घरमा हराउने लक्ष्यमा हुनेछ। टी–२० विश्वकपको तयारी स्वरूप दुवै टिमले यो सिरिज खेलिरहेका हुन्। भारत र अष्ट्रेलिया बलिया टिम हुन्।

दुवै आउँदो विश्वकपको उपाधि दावेदार टिमसमेत हुन्। भारत आईसीसीको टी–२० वरियताको शीर्ष स्थानमा रहेको टिम हो। अष्ट्रेलिया वरियताको छैटौं स्थानमा रहेको छ। दुवै टिममा स्टार खेलाडीहरू छन्।

स्टार अलराउण्डर टिम डेविडले अष्ट्रेलियाको टोलीमा डेब्यू गरेका छन्। भारतविरुद्ध प्लेइङ–११ म पर्दै उनले आज अष्ट्रेलियाको टिममा डेब्यू गरेका हुन्। डेविडले अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि नै सिंगापुरबाट डेब्यू गरिसकेका छन्।

विश्वका चर्चित टी–२० लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी अष्ट्रेलियामा परेका हुन्। घरेलु मैदानमा हुने टी–२० विश्वकप खेल्ने अष्टे«लियाको टिममा समेत उनले मौका पाएका छन्।

स्टिभ स्मिथले भारतविरुद्धको टी–२० सिरिजमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने भएका छन्। चोटको क्रम मिचेल मार्शको अनुपस्थितिमा स्मिथले तेस्रो नम्बरमा ब्याटिङ गर्ने भएका हुन्।

भारत भ्रमणमा रहेको अष्ट्रेलियाले घरेलु टोलीसँग ३ खेलको टी–२० सिरिज खेल्न लागेको हो। स्मिथले टी–२० अन्तर्राष्ट्रियमा १२ खेलमा मात्र तेस्रो नम्बरमा ब्याटिङ गरेका छन्। स्मिथले सर्वाधिक धेरै चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन्। भारतविरुद्ध मार्शसँगै डेभिड वार्नर र मार्कुस स्टोनिस अष्ट्रेलियाको टोलीमा छैनन्।

भारतको प्लेइङ–११ :

रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, दिनेश कार्तिक (विकेटकिपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल, युजवेन्द्र चहल र उमेश यादव।

अष्ट्रेलियाको प्लेइङ–११ :

आरोन फिन्च (कप्तान), क्यामरुन ग्रीन, स्टिभन स्मिथ, ग्लेन म्याक्सवेल, जोस इङ्लिस, टिम डेभिड, म्याथ्यू वेड (विकेटकिपर), प्याट कमिन्स, नाथन एलिस, एडम जाम्पा र जोस हेजलवुड।

Leave A Reply

Your email address will not be published.