भारतमाथि अष्ट्रेलियाको रोमाञ्चक जित, यी खेलाडी बने जितका हिरो

काठमाडौं।

भारतसँगको टी–२० सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया ४ विकेटले विजयी भएको छ। मोहालीस्थित बिन्द्रा स्टेडियममा भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

अष्ट्रेलियाका लागि क्यामरन ग्रीनले अर्धशतकीय पारी खेले। उनले ३० बलमा ८ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६८ रनको योगदान दिए। यस्तै, स्टिभ स्मिथले ३५, कप्तान आरोन फिन्चले २२ र जोश इंग्लिसले १७ रन जोडे। अष्ट्रेलियालाई म्याच जिताउन म्याथ्यू वेड र टिम डेविडले उत्कृष्ट साझेदारी गरे। वेडले २१ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ४५ रन बनाउँदा डेविडले १४ बलमा १ चौका र १ छक्कासहित १८ रन बनाए।  यी दुवैले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरेका हुन्। डेविडको यो डेब्यू म्याच हो।

प्याट कमिन्स ४ रनमा अविजित रहे। भारतका लागि अक्षर पटेलले ३, उमेश यादवले २ र युजवेन्द्र चहलले १ विकेट लिए।  त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो। उसका लागि हार्दिक पाण्ड्या र केएल राहुलले अर्धशतकीय पारी खेले।

हार्दिकले ३० बलमा ७ चौका र ५ छक्काको मद्दतमा नटआउट ७० रनको योगदान दिए। उनको यो टी–२० आई करियरको उत्कृष्ट ब्याटिङ हो। यसअघि टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ५१ रन थियो।

राहुलले ३५ बलमा ४ चौका र ३ छक्कासहित ५४ रन बनाए। यस्तै, सूर्यकुमार यादवले ४६ र कप्तान रोहित शर्माले ११ रन बनाउँदा विराट कोहली २, दिनेश कार्तिक र अक्षर पटेल ६–६ रनमा आउट भए। हर्षल पटेल ७ रनमा अविजित रहे।

अष्ट्रेलियका लागि नाथन एलिसले ३, जोस हेजलवुडले २ र क्यामरन ग्रीनले १ विकेट लिए। यस जितसँगै तीन म्याचको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ। यी दुई देशबीचको दोस्रो टी–२० म्याच शुक्रबार हुनेछ।

Leave A Reply

Your email address will not be published.