काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दुबैको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा कुशल ५१ औं तथा दीपेन्द्र ५८ औं स्थानमा रहेका हुन् ।
बलिङतर्फ सन्दीप लामिछाने १ स्थान तल झर्दै ६२ औं स्थानमा झरेका छन् । दीपेन्द्र अलराउण्डर वरीयताको १० औं स्थानमा कायमै रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् । बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् ।
भारत र पाकिस्तान एकदिन अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पराजित भएका छन्। टी–२० वरियताको शीर्ष स्थानमा रहेको भारत विश्व च्याम्पियन अष्ट्रेलियासँग हार्दा पाकिस्तानले इंग्ल्याण्डविरुद्ध पराजय ब्यहोरेको हो। दुवै टिम गएराति आफ्नो घरेलु मैदानमा हारेका हुन्।
टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो म्याचमा इंग्ल्याण्डले पाकिस्तानलाई हरायो। कराँचीमा मंगलबार राति इंग्ल्याण्डले पाकिस्तानलाई ६ विकेटले हराएको हो। यस जितसँगै पाकिस्तान भ्रमणमा रहेको इंग्ल्याण्डले ७ खेलको सिरिजमा १–० को अग्रता लिएको छ।
इंग्ल्याण्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको हो। इंग्ल्याण्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो। पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्याण्डले १९.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
इंग्ल्याण्डका एलेक्स हेल्सले ५३ रनको अर्धशतकीय इनिङ खेले। ह्यारी ब्रुक्सले अविजित ४२, बेन डुकेटले २१ तथा डेविड मालनले २० रन जोडे। पाकिस्तानका लागि उस्मान कादिरले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो। पाकिस्तानका मोहमद रिजवानले ६८ रनको अर्धशतकीय इनिङ खेले। कप्तान बाबर आजमले ३१ रन जोड्दा इफ्तिखर अहमेदले २८ रन बनाए। इंग्ल्याण्डका लुक उडले ३ तथा आदिल राशिदले २ विकेट लिए।
यसैगरी भारतसँगको टी–२० सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया ४ विकेटले विजयी भएको छ। मोहालीस्थित बिन्द्रा स्टेडियममा भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। अष्ट्रेलियाका लागि क्यामरन ग्रीनले अर्धशतकीय पारी खेले। उनले ३० बलमा ८ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६८ रनको योगदान दिए।
यस्तै, स्टिभ स्मिथले ३५, कप्तान आरोन फिन्चले २२ र जोश इंग्लिसले १७ रन जोडे। अष्ट्रेलियालाई म्याच जिताउन म्याथ्यू वेड र टिम डेविडले उत्कृष्ट साझेदारी गरे। वेडले २१ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ४५ रन बनाउँदा डेविडले १४ बलमा १ चौका र १ छक्कासहित १८ रन बनाए। यी दुवैले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरेका हुन्। डेविडको यो डेब्यू म्याच हो।
प्याट कमिन्स ४ रनमा अविजित रहे। भारतका लागि अक्षर पटेलले ३, उमेश यादवले २ र युजवेन्द्र चहलले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो। उसका लागि हार्दिक पाण्ड्या र केएल राहुलले अर्धशतकीय पारी खेले।
हार्दिकले ३० बलमा ७ चौका र ५ छक्काको मद्दतमा नटआउट ७० रनको योगदान दिए। उनको यो टी–२० आई करियरको उत्कृष्ट ब्याटिङ हो। यसअघि टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ५१ रन थियो। राहुलले ३५ बलमा ४ चौका र ३ छक्कासहित ५४ रन बनाए।
यस्तै, सूर्यकुमार यादवले ४६ र कप्तान रोहित शर्माले ११ रन बनाउँदा विराट कोहली २, दिनेश कार्तिक र अक्षर पटेल ६–६ रनमा आउट भए। हर्षल पटेल ७ रनमा अविजित रहे। अष्ट्रेलियका लागि नाथन एलिसले ३, जोस हेजलवुडले २ र क्यामरन ग्रीनले १ विकेट लिए। यस जितसँगै तीन म्याचको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ। यी दुई देशबीचको दोस्रो टी–२० म्याच शुक्रबार हुनेछ।