काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने अहिले देश बाहिर रहेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले देश बाहिर रहेका सन्दीपलाई झड्का दिएको छ।
सन्दीपको आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ। टी–२० बलिङतर्फको वरीयता खस्किएको हो। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीप एक स्थान तल झरेका छन्। उनी ६२ औँ स्थानमा पुगेका छन्। यसअघि उनी ६१औँ स्थानमा रहेका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको आईसीसी ब्याटिङ वरीयता सुधार भएको छ।
आईसीसीले अपडेट गरेको टी–२० को नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो। नयाँ वरीयतामा कुशल ५१औं तथा दीपेन्द्र ५८औं स्थानमा रहेका हुन्। दीपेन्द्र अलराउण्डर वरीयताको १०औं स्थानमा कायमै रहेका छन्।
ब्याटिङतर्फ पाकिस्तानका मोहम्मद रिजवान शीर्ष स्थानमा यथावत् रहेका छन्। बलिङमा जोस हेजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन्।
पीएनजीमाथि नामिबियाको जित
आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनीलाई पराजित गरेको छ । पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको खेलमा नामिबिया ६१ रनले विजयी भएको हो ।
नामिबियाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४३ ओभर १ बलमा अलआउट हुदै १ सय ५३ रन मात्र बनायो । उसका लागि लिगा सियाकाले ३८ तथा हिरी हिरीले २९ रन बनाए । चाल्स अमिनीले २२ तथा काबुया मोरियाले अविजित १५ रन बनाए । चाड सोपारले १० तथा कप्तान असद भालाले ७ रन बनाए ।
नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले ३ तथा टाङ्गीनी लङ्गामिनी, रुबेन ट्रपिलम्यान र जान फ्रायलिंक समान २/२ विकेट लिए । ब्रिनड स्कोलजले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । उसका लागि कप्तान गेहार्ड इरास्मसले ४९ तथा जान निकोलले ३५ रन बनाए ।
लोहानड्री लौरेन्सले ३४ तथा जान ग्रिनले अविजित ३१ रन बनाए । जान फ्रायलिंकले १४ तथा स्टेफन ब्राडले १३ रन बनाए । पपुवा न्युगिनीका लागि चाड सोपार र काबुआ मोरियाले समान २/२ तथा नोसाईना पोकना र असद भालाले समान १/१ विकेट लिए ।
जितसँगै नामिबियाको २२ खेलमा २६ अंक भएको छ । सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ । पपुवा न्युगिनी भने २४ खेलमा ५ अंक सहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ । नेपाल २० खेलमा ८ मा जितका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ ।