काठमाडौं।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भोलि बिहीबार हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार हुने जनाएको छ ।
नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले पत्रकार सम्मेलनबाट टोलीको घोषणा गर्ने एन्फाले जनाएको छ। पत्रकार सम्मेलन अपरान्ह ३ बजे हुनेछ ।
मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी रहेका छन्। नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
बन्द प्रशिक्षणमा रहेका नेपाली टोली –
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई, अन्जन विष्ट
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ महिला च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्मालाई नयाँ घर बनाइदिन निर्देशन दिएकी छन् । सोमबार सम्पन्न छैटौं संस्करणको साफ च्याम्पियनसिपमा उपाधि सहित उत्कृष्ट गोलकिपरको अवार्ड समेत जितेकी रुपना रंगमाटी नानियारचरकी हुन् ।
बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल उपहार लिएर गएका थिए । रुपनाको जीर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेकी प्रधानमन्त्री शेख हसिनाको ध्यान आकर्षण भयो र हसिनाले उतैबाट रुकमाको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी हुन । हसिनाका प्रेस सचिव एहसानुल करीमका अनुसार उनले रुपनाको परिवारको निमित्त घर बनाउन अमेरिकाबाट निर्देशन दिएको बताए ।
डीसी मिजानुर रहमानले उपजिला निर्वाही अफिसर (युएनओ) लाई सो निर्देशन पठाइसकेको ढाका ट्रिब्युनले उल्लेख गरेको छ । डिसीले गोलकिपर रुपना र अर्की खेलाडी रितु पोर्नाको परिवारलाई आर्थिक सहायत स्वरुप डेढ लाख टाकाको चेक समेत हस्तानरण गरेका छन् ।
नेपाललाई हराउने बंगलादेशी महिला फुटबल टिमलाई बीसीबीले ५० लाख टाका दिने
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिमलाई नगद ५० लाख बंगलादेशी टाका पुरस्कार दिने घोषणा गरेको छ । सोमबार काठमाडौंको दशरथ रंगशालामा भएको छैटौं संस्करणको साफ फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ३-१ ले हराएर उपाधि जितेको थियो ।
बीसीबीका अध्यक्ष तथा सांसद नजमुल हसनले महिला फुटबलरको सफलताको प्रशंसा गर्दै ऐतिहासिक उपलब्धीले सिंगो राष्ट्रलाई गौरवान्वित बनाएको बताए ।
‘महिला फुटबल टोलीले आफ्नो असाधारण प्रदर्शन र ऐतिहासिक उपलब्धिले सिंगो राष्ट्रलाई गौरवान्वित गरेको छ । उनीहरूको प्रयासको लागि हाम्रो प्रशंसा र समर्थनको रुपमा बीसीबीको तर्फबाट सम्पूर्ण टोलीलाई ५० लाख टाका घोषणा गर्दैछु,’ हसनले भने, ‘मलाई कुनै शंका छैन कि साफको विजयले देशभरका खेलाडीहरू र महिलाहरूलाई र खेलकुद टोलीहरूलाई सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय गौरवको लागि प्रयास गर्न धेरै प्रेरित गर्नेछ ।’
बंगलादेशले पहिलो पटक च्याम्पियन बन्ने क्रममा पाँच पटकको च्याम्पियन भारत र घरेलु टोली नेपाललाई समेत पहिलो पटक हराएको थियो । प्रतियोगिभर बंगलादेशले अपराजित रहँदै उपाधि जित्दा २३ गोल गर्यो भने जम्मा १ गोल व्यहोरेको थियो।