काठमाडौं ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) पत्रकार सम्मेलनबाट २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईँले अन्तिम टोली घोषणा गरेका हुन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ । यसअघिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् ।
रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन्। चोटका कारण सुनिल बल टोलीमा परेका छैनन्। प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गरेका छैनन् । उनले खेलअघि कप्तान घोषणा गर्ने बताए।
२३ सदस्यीय नेपाली टिम
गोलकिपर: किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु । डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल
मिडफिल्डर: सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट। फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी।
साबा च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स
साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सको सामना गर्ने भएको छ । आयोजक माल्दिभ्स बास्केटबल एसोसियसनले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी घरेलु टोलीलाई पाएको हो ।
नेपाल र माल्दिभ्सबीचको खेल आइतबार हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ । प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स जाने छन् ।
नेपालले सदिना श्रेष्ठको कप्तानीमा प्रतियोगिता खेल्ने छ । नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् । प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।