काठमाडौं।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) पत्रकार सम्मेलनबाट २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईँले अन्तिम टोली घोषणा गरेका हुन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ । यसअघिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् ।
रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन्। चोटका कारण सुनिल बल टोलीमा परेका छैनन्। प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गरेका छैनन् । उनले खेलअघि कप्तान घोषणा गर्ने बताए।
बन्द प्रशिक्षणमा रहेका नवयुग श्रेष्ठ, सुनील बल, आयुष घलान, अभिषेक रिजाल, आभास लामिछाने, संजोग राई र रञ्जित धिमालले अन्तिम २३ मा स्थान बनाउन सकेनन्। चोटका कारण सुनील बल टोलीमा नपरेको बताइएको छ।
प्रशिक्षक हुमागाईंले नवयुग श्रेष्ठमा केही कमीकमजोरी रहेको कारण टोलीमा नपरेको बताए। उनले यू–२० टोलीका कप्तान घलानलाई समेत टोलीमा राखेका छैनन्।
२३ सदस्यीय नेपाली टिम
गोलकिपर: किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु । डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल
मिडफिल्डर: सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट। फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी।